Thu Dec 1 2022
देश

मतदानका दिन अत्यावश्यक क्षेत्रका सवारी साधनलाई अनुमति आवश्यक नपर्ने

काठमाडौं, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सवारी अनुमतिपत्र आवश्यक नपर्ने भएको छ । निर्वाचन आयोगले अत्यावश्यक क्षेत्रका लागि सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिन नपर्नेगरी सहज आवागमन व्यवस्था गरेको हो ।

आयोगका अनुसार एम्बुलेन्स, शववाहन, दमकलका लागि सवारी अनुगमन पत्र आवश्यक पर्ने छैन । खानेपानीका ट्यांकर, फोहोरमैला तथा दूधका गाडी, परिचयपत्र बोक्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा ती प्रयोजनामा प्रयोग हुने सवारी साधनलाई पनि अनुमतिपत्र आवश्यक पर्ने छैन ।

यस्तै, दूरसञ्चार तथा केबल सेवामा प्रयोग हुने सवारी साधन, आयोगबाट जारी परिचयपत्र बाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने सवारी साधनका लागि पनि अनुमतिपत्र आवश्यक पर्ने छैन । प्रेसका लागि पनि सवारी अनुमति पत्र आवश्यक नपर्ने जनाइएको छ ।