Sat Dec 10 2022
अन्तर्राष्ट्रिय

रुसी सेना फर्किएपछि खेरसनका सर्वसाधारणमा उल्लास

युक्रेनी अधिकारीहरूले रुस खेरसनबाट फिर्ता भए पनि ‘युद्ध समाप्त नभएको’ भन्दै आफ्ना नागरिकहरुलाई चेतावनी दिएका छन् । रुसले खेरसनबाट आफ्ना सेना फिर्ता गरेको घोषणा गरेपछि पनि सप्ताहन्तमा उत्सवहरू जारी रहँदा युक्रेनी अधिकारीहरुले उक्त चेतावनी दिएका हुन् ।

हर्षोल्लास पूर्ण भीडले शुक्रबार युक्रेनी सेनालाई शहरमा स्वागत गरे । फेब्रुअरीमा युद्ध सुरु भएपछि रुसी सेनाले खेरसनलाई नियन्त्रणमा लिएको थियो ।

राजधानी किभ र ओडेसालगायत युक्रेनका अन्य क्षेत्रहरूमा पनि यस्तै उल्लास पूर्ण दृश्यहरू रिपोर्ट गरिएको थियो । तर, मस्कोको महत्वाकांक्षालाई चोट लागे पनि युक्रेनी अधिकारीहरू सतर्क छन् ।

युक्रेनी रक्षा मन्त्रीका सल्लाहकार युरी साकले ‘उत्सब मनाउनु धेरै चाँडो’ हुने चेतावनी दिए। ‘हामीले सधैं विश्वास गर्यौं कि हामी खेरसनलाई मुक्त गर्नेछौं’, उनले रेडियो ४ को टुडे कार्यक्रममा भने । रुसले युक्रेन युद्धमा कहिल्यै विजयी नहुने उनले दाबी गरे । रुसी प्रचार यन्त्रमा त्रास बढेको उनले बताए ।