Wed Dec 7 2022
आर्थिक

तीन महिनामा ५८ करोडको टेलिभिजन सेट र पौने ३० करोडको क्यामरा नेपाल भित्रियो

चालू आर्थिक वर्ष २०७९–८० को पहिलो तीन महिनामा विभिन्न देशबाट नेपालमा ५८ करोड रूपैयाँभन्दा बढीको टेलिभिजन सेट भित्रिएको छ । सोही अवधिमा पौने ३० करोड रूपैयाँको विभिन्न प्रकारका क्यामरा पनि नेपाल भित्रिएको छ ।

२०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मूल्य बराबरको टेलिभिजन सेट र क्यामरा नेपाल भित्रिएका हुन् । भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा ५८ करोड ३ लाख ४३ हजार रुपैयाँको ३३ हजार ८२२ वटा टेलिभिजन सेट नेपालले आयात गरेको छ ।

सोही समयमा २९ करोड ७९ लाख ८७ हजार रूपैयाँको ८९ हजार २११ वटा विभिन्न प्रकारका क्यामरा नेपाल भित्रिएको विभागले जनाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले ८९ करोड ९ लाख ३२ हजार रूपैयाँको १ लाख ९३ हजार ५८ वटा टेलिभिजन सेट र ४७ करोड २८ लाख १५ हजार रूपैयाँको ७८ हजार ४९९ वटा विभिन्न प्रकारका क्यामरा आयात गरेको थियो ।