Mon Nov 28 2022
मुख्य खबर

चुनाव जित्नेमा ढुक्क छुः पम्फा भुसाल

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसालले आसन्न प्रतिनिधि सभाको निर्वाचमा आफू विजयी बन्नेमा ढुक्क रहेको बताउनुभएको छ ।
ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी घरदैलो कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री भुसालले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट आफू यसअघि पनि दुई पटक विजयी भइसकेको उल्लेख गर्दै यस पटक पनि विजयी हुनेमा विश्वस्त रहेको बताउनु भयो ।

उहाँले आफूले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ का जनताको लागि राम्रा कामहरु गरेकाले पराजय भोग्नुपर्ने अवस्था नआउने दाबीसमेत गर्नुभयो । मन्त्री भुसालले घरदैलो कार्यक्रममा आम मतदाताहरु सत्ता गठबन्धन र विशेषगरी आफूसँग खुशी र सन्तुष्ट रहेको बताउनु भयो ।

आसन्न निर्वाचनलाई लक्षित गरी विभिन्न क्षेत्रका प्रतिनिधि र प्रदेश सभा उम्मेदवारहरुले आफ्नो प्रचारप्रसारका लागि यतिबेला घरदैलो कार्यक्रमलाई तिब्र बनाएका छन् । आम मतदाताको घरमा पुगेर उम्मेदवारहरु आफूलाई भोट माग्न लागिपरेका छन् ।