Wed Dec 7 2022
मुख्य खबर

सञ्चारमन्त्री कार्कीबिरुद्ध निर्वाचन आचारसंहीता उल्लंघनको उजुरी

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबिरुद्ध निर्वाचन आचारसंहीता उल्लंघनको उजुरी परेको छ ।

गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका सञ्चारमन्त्री कार्कीबिरुद्ध मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ । जसपा नेतासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएका एमाले सुनसरी क्षेत्र नं. ४ निर्वाचन परिचालन कमिटीका संयोजक सरोज पोखरेलले मन्त्री कार्की बिरुद्ध आचारसंहीता उल्लंघनको उजुरी दर्ता गराउनुभएको हो ।

सञ्चारमन्त्री कार्कीलाई प्रहरी प्रशानको दुरुपयोग गरेको, चुनावी प्रचारमा धेरै सवारी साधन प्रयोग गरिएको लगायतका आरोप लगाइएको छ ।

मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले प्रतिनिधि सभा सदस्य उम्मेदवार कार्की र स्थानीय निकायका प्रमुखहरुले आचारसंहीता उल्लंघन गरेको उजुरी आफुले प्राप्त गरेको बताउनु भयो ।

उहाँले उजुरीको विस्तृत रुपमा अध्ययन गर्न बाँकी रहेको भन्दै अध्ययनपछि आवश्यक प्रक्रिया अगाडी बढाइने जानकारी दिनुभयो ।