Thu Dec 1 2022
अन्तर्राष्ट्रिय

नेपालले भोलि पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले भोलि बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पाहुना टोली पाकिस्तानको सामना गर्नेछ । खेल साँझ ५:३० बजे सुरु हुनेछ।

नेपाली फुटबलको घर मानिने दशरथ रंगशालामा मैदान उत्रदा नेपाली फुटबलले अर्को कोशेढुंगा पार गर्दैछ ।
पाकिस्तानविरुद्धको खेल घरेलु मैदानमा नेपालको लागि ५० औं खेल हुनेछ ।

नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो । र, ३९ वर्षमा नेपालले दशरथ रंगशालामा ५० खेल पूरा गर्न लागेको हो ।

नेपालले दशरथ रंगशालामा पहिलो पटक माल्दिभ्सविरुद्ध औपचारिक अन्तराष्ट्रिय खेल खेलेको थियो ।

सन् १९८४ मा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुद अन्तर्गत सेप्टेम्बर १८ मा नेपालले दशरथ रंगशालामा पहिलो औपचारिक खेल खेलेको हो । जुन खेलमा नेपालले माल्दिभ्सलाई ४-० ले हराएको थियो । नेपालले पुरुष फुटबलमा स्वर्ण पदक समेत जितेको थियो ।

नेपालले दशरथ रंगशाला बाहेक काठमाडौंकै अन्य मैदानमा समेत खेलेको छ । नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान,महाराजगन्जस्थित प्रहरी प्रशिक्षण केन्द्रको मैदान र हल्चोकस्थित एपीएफ मैदानमा अन्तराष्ट्रिय खेल खेलेको छ ।

त्यस्तै नेपालले काठमाडौंबाहिर पोखरा रंगशालामा समेत अन्तराष्ट्रिय खेल खेलेको छ ।