Sun Nov 27 2022
मुख्य खबर

जनताले नै हामीले जिताउँछौँ, प्रधानमन्त्री बन्नुस् भनेका छन्ः प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनपछि जनताले आफूलाई प्रधानमन्त्रीमा देख्न चाहेको बताउनुभएको छ ।
आज काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को चुनावी घरदैलोका क्रममा उहाँले यस्तो बताउनुभएको हो । नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले उपप्रधानमन्त्री बनाइसकेको र अब पनि चुनाव जिताएर पठाउने र प्रधानमन्त्रीको रुपमा देख्न चाहेको बताएको जानकारी दिनुभयो ।

उहाँले विगतका चुनावमा भन्दा यस पटकको चुनावमा जनताले राम्रो प्रतिक्रिया दिइरहेको भन्दै आफूले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कामहरु उल्लेख्य गरेको बताउनु भयो ।

उहाँले जनताले काठमाडौं, १ मा खानेपानीको समस्या समाधान गर्नेकुरा पहिलो माग राखेको बताउनु भयो । गुणस्तरयुक्त शिक्षा र स्वास्थ्य सेवाको विकास गर्न पनि मतदाताले माग गरेको बताउनु भयो ।

उहाँले आसन्न निर्वाचनमा जित हाँसिल गरेपनि आफ्नो पहिलो काम खानेपानीको समस्या समाधान गर्ने र सामुदायिक र निजी विद्यालयको शिक्षा गुणस्तरमा समानता ल्याउने रहेको बताउनु भयो । शिक्षामा समानताका लागि संघीय शिक्षा ऐन बनाउँदा जोड दिनेपनि बताउनु भयो ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रमा भएका सार्वजनिक जग्गाहरु अनाधिकृत रुपमा प्रयोग भएकाले त्यसलाई फर्काएर सानो खेलग्राम र पार्कहरु बनाउने बताउनु भयो ।

नेता सिंहले संवैधानिक निकायहरुमा राजनीतिकरण हुनु नहुने भन्दै योग्य व्यक्ति चुन्नुपर्ने बताउनु भयो ।