Sat Dec 10 2022
मुख्य खबर

रुपन्देही सुकुम्बासी बस्तीका मतदाताको मागः लालपूर्जा र रोजगारी

रुपन्देही क्षेत्र नम्बर ३ मोतीपुरस्थित सुकुम्बासी बस्तीका मतदाताहरुले लालपूर्जा दिन प्रतिवद्ध उम्मेदवारलाई आफूहरुले मतदान गर्ने बताएका छन ।
उनीहरुले रोजगारीको अवसर सृजना गरिदिन पनि राजनीतिक दलका उम्मेदवारहरुसँग आग्रह गरे । खानै नपाउने अवस्था भएकाले आफूहरुलाई रोजगारीको अवसर सृजना गर्नुपर्ने उनीहरुको माग छ ।

लामो समय बस्दा पनि उनीहरुले लालपूर्जा नपाएकाले यो निर्वाचनबाट विजयी हुने सांसदले आफूहरुलाई त्यसको व्यवस्था गर्नुपर्नेमा स्थानीयको जोड छ ।

दिनभर काम गर्दा पनि खान पाउने अवस्था नरहेको त्यहाँका मतदाताको गुनासो छ । उनीहरुले देश भित्रै रोजगारीको अवसर सृजना गरेर जनप्रतिनिधिहरुले आफूलाई राहत दिनुपर्ने बताएका छन ।

यस क्षेत्रमा सत्तारुढ गठबन्धनका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनु भएको छ भने उहाँको टक्करमा नेकपा एमाले र जनता समाजवादी पार्टीको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा हुनुहुन्छ ।

नेताहरुले विगतमा जस्तो चुनावी प्रचार अभियानलाई तीव्रता नदिएको केहीले बताएका छन । ३/४ वर्षअघि जस्तो चुनावको प्रचार अभियानले तीव्रता नपाएको स्थानीयले बताएका छन ।

रुपन्देही क्षेत्र नम्बर ३ मोतीपुरस्थित सुकुम्बासी बस्तीका मतदाताहरुले घर सल्लाह गरेर मतदान गर्ने प्रतिक्रिया समेत दिएका छन । अब निर्वाचनका लागि मतदान गर्न ४ दिन मात्रै बाँकि छ ।