Sun Nov 27 2022
मुख्य खबर

मापदण्ड नपुगेका औषधीको मनपरी विज्ञापन र बिक्री

अविशेक सुनार-

सामाजिक सञ्जाल फेसबुक, टिकटक, यूट्यूव लगायतको प्रयोग बढ्न थालेसँगै व्यवसायीहरुले यसलाई विज्ञापनको भरपर्दो र विश्वसनीय माध्यम मान्न थालेका छन् ।

व्यवसायीले सामाजिक संजाल मार्फत सस्तो र सुलभ मुल्यमा उपलब्ध गराउने भन्दै मापदण्ड विपरितका औषधीको आकर्षक विज्ञापन व्यापकरुपले गरिरहेका छन् ।

नियामक निकायको अनुमति नलिईकन मापदण्ड विपरित बिक्री गरिएका औषधीको प्रयोगबाट हुनसक्ने असरबारे भने आमउपभोक्ता अनविज्ञ छन् ।

आजभोली सामाजिक सञ्जाल नित्यकर्म र जीवनको महत्वपूर्ण पाटो भएको छ । सामाजिक संजाल मार्फत विश्वनै अधिकांशको पहुँमा पुगिसकेको छ ।

यस्तो अवस्थाको फाइदा उठाएर पछिल्लो समय विभिन्न कम्पनीहरुले सामाजिक सञ्चालमार्फत आफ्नो उत्पादनको विज्ञापन गर्ने होडबाजी नै चलाएका छन् । त्यसमा पनि विभिन्न औषधीका आकर्षक विज्ञापन सामाजिक सञ्जमा छ्यापछ्पती पाइन्छ ।
औषधी उत्पादन, बिक्रि वितरण तथा प्रचारप्रसार गर्दा मापदण्ड पु-याएर औषधी व्यवस्थापन विभागको अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । तर, यसरी सामाजिक सञ्जालमा देखिएको विज्ञापन मध्ये कुनै पनि कम्पनीले प्रचार प्रचारका लागि अनुमति नलिएको औषधी व्यवस्थापन विभागको भनाई छ ।

सामाजिक सञ्जालमा आयुर्वेदिक औषधी ग्यास्ट्रिक, पायल्स, फिस्टुला, यौनरोग, यौन उत्तेजना बढाउने, शिघ्र स्खलन रोक्ने, तौल बढाउने वा घटाउने, स्मरण र ईच्छा शक्ति बढाउने, अनिद्रा, लगायतको समस्या समाधान गर्ने दाबी सहितका विज्ञापन गरेको पाइन्छ ।

ग्राहकलाई आकर्षित गर्न निशुल्क होम डेलिभरिको व्यवस्था समेत गरिएको हुन्छ । यस्ता भ्रामक विज्ञापनका आधारमा उपभोक्ताले औषधी खरिद गर्ने पनि गर्छन् । तर, सम्बन्धित निकायसँग अनुमति नलिएका र मापदण्ड नपु¥याएका औषधीले स्वास्थ्यमा गम्भिर र दिर्घकालिन असर पर्ने हुँदा सर्तक रहन वैद्यखाना विकास समितिको सुझाव छ ।

औषधी ऐन २०३५ मा औषधीको भ्रमपूर्ण विज्ञापन गर्न नपाइने निएको छ । ऐन विपरित उत्पादन गरिएका औषधीको प्रयोगबाट कसैलाई असर पुगे ५ देखि १० वर्षसम्म कैद वा घटनाको प्रकृती हेरी कारबाही गरिने कानुनी व्यवस्था छ ।

यस विषयमा हामीले बुझ्न खोज्दा कुनै पनि कम्पनी यस विषयमा बोल्न चाहेनन् । यस्ता औषधीको विषयमा उपभोक्ता पनि सजग देखिदैनन् । यस्ता विज्ञापन दैनिक आईरहँदा औषधि विभाग पनि मुकदर्शक बनेको छ ।

सामाजिक सञ्चालमा आउने यस्ता विज्ञापनमा उपभोक्ता आफै पनि सजग हुन आवश्यक देखिएको छ ।