Thu Dec 1 2022
मुख्य खबर

नेतासँग एजेन्डा छैन, हाँसो मजाक र गालिगलौजमा मस्त

अमृत ढकाल-
संसदीय निर्वाचनको मिति मुख्यैमा आइपुग्दा दलका शीर्ष नेताहरूले चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन्। मतदाता रिझाउन देखि उम्मेदवारको हौसला बढाउन शीर्ष नेताहरू आफै चुनावी सभामा सरिक हुने गरेका छन् ।

चुनावी सभामा भाषण गर्दा नेताहरूले आफ्ना एजेन्डा र कार्यक्रमलाई प्राथमिकता राखेर मतदाता रिझाउनु पर्ने हो । तर विडम्बना विना एजेण्डानै चुनावमा होमिएका दलहरूले एकले अर्काका विरुद्धमा खनिँदै गालीको वर्षा गरिरहेका छन ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मुख्यैमा आइपुग्दा चुनावी प्रचारप्रसारले पनि तीव्रता पाएको छ । मतदाता रिझाउन देखि उम्मेदवारको हौसला बढाउन शीर्ष नेताहरू दैनिक विभिन्न जिल्लामा आयोजना गरिएका चुनावी सभामा आफै सरिक हुने गरेका छन् ।

चुनावी सभामा नेताहरूले आगामी पाँच वर्षमा आफूहरूले गर्न सक्ने दाबी सहित मतदातासङ मत माग्नु पर्ने हो । तर दैनिक तीन चार वटा सम्म चुनावी सभालाई सम्बोधन गर्ने नेताहरूले आफ्ना एजेन्डा प्रस्तुत गर्नुभन्दा पनि विपक्षी दललाई गाली गर्नमै समय खर्चिरहेका छन ।

एक्लै निर्वाचन लडे हारिने डरले गठबन्धन बनाएर निर्वाचन लडेको भन्दै आलोचित बनेका नेताहरूले देशको दीर्घकालीन हित र योजना अघि सारेर मत माग्नु पर्ने हो । तर दलका शिर्ष भनिएका नेताहरुले गर्ने भाषणमा यस्ता कुनै कुरा भेटिदैन ।

गर्छन त केवल विपक्षीको आलोचना मात्र । आफ्नो सिद्धान्त र विचारलाई तिलाञ्जली दिएर नेताहरूले यतीबेला एक अर्कालाई प्रतिगमनकारी र अग्रगमनकारीको आरोप लगाउँदै जनता अलमलाउने काम गरिरहेकाछन ।

शीर्ष नेताहरूले जनताका कुरा सम्बोधन गर्न छोडेर हाँस्य ब्यङ्ग्यकारका रूपमा प्रस्तुत हुँदा कार्यकर्ता निराश हुनु पर्ने हो ।

चुनावी सभा बाटै आफू रङ्गमञ्चमा छु कि चुनावी सभामा भन्ने कुरालाई बिर्सने नेतालाई सबक सिकाउनु पर्ने हो । तर आफ्नो काम धन्दा नै छोडेर नेताको भाषण सुन्न आएका कार्यकर्ता पनि नेताको भाषणमा मक्ख पर्छन् र त्यसैमा हौसिएर ताली पडकाउछन ।
शीर्ष नेताहरूकै सिको गर्दै दोस्रो र तेस्रो तहका नेताहरूले पनि जनतालाई घोषणा पत्र बुझाउन छोडेर विपक्षीलाई उछितो काढ्दैमा व्यस्त छन् ।
कार्यक्रममा नेताहरूले कार्यकर्तालाई प्रशिक्षण दिने भन्दा पनि उत्तेजित बनाउने गरेका छन् । देशको प्रधानमन्त्री भइसकेका देखि आफूलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरेका नेताहरूले समेत तल्लो स्तरमा झरेर एक अर्कालाई गाली गर्नु दुखद भएको धेरैको बुझाई छ।

नेताहरूको नैतिकता नै सकिएकाले उनीहरू तल्लो स्तरमा झरेर गाली गर्ने गरेको जानकारहरूको बुझाई छ ।

राजनीतिक रूपमा एकले अर्कालाई आलोचना गर्नु सामान्य हो । तर हरेक दिन हरेक क्षण, हरेक पल व्यक्तिगत कुण्ठा पोख्दै एक अर्कालाई गाली तथा तथ्यहीन आरोप लगाउनु, त्यो राजनीतिक धर्म होइन ।

दलका शीर्ष नेता तथा भोलि देशको बागडोर सम्हाल्ने नेताहरूले आफ्नो बोलीमा लगाम लाउन आवश्यक छ । अब पनि दलका नेताहरूले तथ्यहीन आरोप लगाइदिँदैमा र चुनावी सभामा हाँसो मजाक गर्दैमा मतदाताले मत दिन्छन् भन्ने छैन ।