Wed Dec 7 2022
मुख्य खबर

देशको अर्थतन्त्र उकास्न नेतृत्वमा युवा आउनुपर्छ : वाग्ले

निवार्चन नजिकिदै गर्दा आममदातालाई फेरी एकपटक आर्थिक विकास सम्बृद्धि र सम्पन्नताको सपना देखाइएको छ ।

हरेक निर्वाचनका बेला राजनीतिक दलहरुको देखाउने आर्थिक सम्पन्नताको सपना चुनाव सकिएसँगै चकनाचुर हुने गरेको छ । यस्तो अवस्थाले नेपालमा विकास हुन नसक्नुमा नेतृत्वमा क्षमता वा चाहनाको अभाव केहो भनेर बहस पनि हुने गरेको छ ।
आर्थिक विकास र सम्पन्नता आम नेपालीको लामो समयदेखिको चाहना हो । तर त्यो चाहना पुरा हुनु भन्दा परपर भागिरहेको सबैले आशंका गर्न थालेका छन् ।

यसको जिम्मेवार पक्कै पनि देश हाक्नेहरु नै हुने । दुरदर्शीताको अभाव , गहिरो अध्ययनबिना नै विकासका नारा दिने होडबाजि र सत्ता केन्द्रित राजनीतीमा अल्झेर उपेक्षामा परेको विकासको गति अब भने रोकिन नहुने आम नेपालीको माग हो ।

यस्तो अवस्थामा अबको चुनावमा सक्षम इमान्दार युवा नेतृत्व आउनु पर्नेमा अधिकाशंको जोड छ । नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिष्पर्धी बनाउनको लागि राजनीतिक निर्णय तथा नीतिहरुमा सुधार ल्याउन अहिले सम्म देश हाकेकाहरुबाट सम्भव नहुने लगभग स्पष्ट नै भइसकेको छ ।

अर्थतन्त्र सुधारका लागि देशको बागडोर दृढ इच्छाशक्ति भएको युवा नेतृत्वले सम्हाल्नु पर्ने बेला भइसकेको योजना आयोगका पूर्व उपाध्यक्ष अर्थ विद डाक्टर स्वर्णिम वाग्लेको भनाइ छ ।

नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको भन्दै उहाँले अब धेरै समय मुलुकको अर्थतन्त्र रेमिट्यान्सले धान्न नसक्ने दाबी गर्नुभयो ।
पर्यटनको उच्च सम्भावना भएको नेपालमा अबको पाँच वर्षमा हवाई क्षेत्रमा सुधार,होटल पूर्वाधारको बिस्तार,दक्ष जनशक्ति उत्पादन गरेर २० लाख पर्यटक ल्याउन दृढ इच्छाशक्ति भएको युवा नेतृत्वबाट सम्भव हुने डा. वाग्लेको निष्कर्ष छ ।

नेपाल आउने पर्यटकले गर्ने खर्च दैनिक १०० डलर बनाएर घुम्ने र बस्ने अवधि १६ दिनसम्म बनाउँदा मात्रै पर्यटक क्षेत्रबाट प्रसश्तै आम्दानी हुने डा.वाग्लेको दाबी छ ।

डा. वाग्लेले नेपालको आर्थिक नीतिहरु भारतसँग समन्वय गरेर नबनाए अर्थतन्त्रमा समस्या आउने स्पष्ट गर्नुभयो । उहाँले दुई देशबीचको राजनीतिक तथा कुटनीतिक सम्बन्धलाई सुधार गरेर त्यही खालको नीतिहरुमा सुधार गर्दा मात्रै सन् २०३० सम्मको नेपालको अर्थतन्त्रको मार्गचित्र माथि लैजान सकिने बताउनु भयो ।