Wed Dec 7 2022
मुख्य खबर

बिहीबार मध्य रातिबाट मौन अवधि सुरु, के गर्न पाइन्छ के पाइदैन ?

यशोदा भण्डारी-
भोलि मध्यराति १२ बजेबाट मौन अवधि सुरु हुुँदै छ । प्रदेश तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुले मौन अवधि सुरु भएपछि कुनैपनि प्रकारका चुनावी प्रचार प्रसार, सभा सम्मेलन, भेला, नाराबाजी गर्न पाउने छैनन् ।

मौन अवधिभर कुनैपनि राजनितीक दल तथा उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको पाईएमा नगद जरिवाना तिर्नुपर्ने र उम्मेदवारको उम्मेदवारी नै रद्द हुनेसम्मको व्यवस्था रहेको निर्वाचन आयोगले प्रष्ट पारेको छ ।

शुक्रबार मध्यराति १२ बजेबाट मौन अवधि लागु हुनेछ । मौन अवधि सुरु भएसँगै राजनितीक दल, दलका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरु, स्वतन्त्र उम्मेदवार, मतदाता, आम सञ्चारमाध्यम कसैले पनि निर्वाचन सम्पन्न नहुन्जेलसम्म चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाईने निर्वाचन आयोगले स्पष्ट गरेको छ । यति मात्र होईन, मतदाताले समेत उम्मेदवारको पक्ष वा विपक्षमा वकालत गर्न, छलफल गर्न पाईने छैन ।

रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाईन लगायतका आम सञ्चारमाध्यमले समेत निर्वाचन सम्बन्धि कुनैपनि अन्तरक्रिया कार्यक्रम गर्न, राजनितीक दल र उम्मेदवारको पक्षमा विज्ञापन गर्न, उनीहरुका बारेमा वाक्य विश्लेषण गर्न नपाईने आयोगले स्पष्ट पारेको छ ।

सामाजिक सञ्जालमा समेत कसैको पक्षमा मत माग्ने, कुनैपनि उम्मेदवारका बारेमा प्रचार वा दुष्प्रचार गर्न पाईने छैन । निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलले कुनैपनि प्रकारको प्रचार प्रसार गर्न वा गराउन नहुने व्यवस्था छ ।

मौन अवधि सुरु भए पश्चात यदि राजनितीक दल वा उम्मेदवारले निर्वाचन आचारसंहिता लागु नगरेमा जरिवाना तिर्नुपर्ने र उम्मेदवारको उम्मेदवारी नै रद्द हुने आचारसंहितामा उल्लेख छ ।

मौन अवधिमा प्रचार प्रसार वा कुनै प्रकारको सभासम्मेलन भएमा स्थानिय प्रशासनले रोक्ने, भएका प्रचार साम्रगी जफत गर्ने र पक्राउ समेत गर्ने आयोगले बताएको छ ।
निर्वाचन आचारसंहितामा व्यवस्था गरेबमाजिम मतदानको दिनभन्दा १७ दिन अगाडि अर्थात् कात्तिक १७ गतेबाट औपचारीक रुपमा चुनावी प्रचार प्रसार सुरु भएको हो ।

उम्मेदवार तथा दलका कार्यकर्ताले मंसिर १ गते शुक्रबार रातिसम्म आफू र आफ्नो पार्टीलाई जिताउन जे जति कसरत गरेपनि शुक्रबार मध्यरातिबाट गर्न पाउने छैनन् ।