Thu Dec 1 2022
मुख्य खबर

चुनावको मौका छोपेर उपभोग्य वस्तुको मूल्य ह्वात्तै बढ्यो, सरकारी अनुगमन फितलो

मेनुका लम्साल-
बजारमा दैनिक उपभोग्य समानको मुल्य झण्डै १५ प्रतिशतले बढेको छ । खानेतेल, चामल, दानाजन्य लगायत अन्य वस्तुको समेत मुल्यवृद्धि हुदा उपभोक्ताहरु मारमा परेका छन् ।

ठुला तथा साना व्यापारीहरुले विभिन्न बाहानामा मुल्य वृद्धि गरिरहेको उपभोक्ताको गुनासो छ । तर नियामक निकायले प्रभावकारी अनुगमन नगर्दा व्यापारीले तोकेकै मुल्यमा समान किन्न उपभोक्ता बाध्य छन् ।

बजारमा दैनिक उपभोग्य वस्तुको मुल्य अस्वभाविक रुपले वृद्धि भएको छ । खानेतेल, चामल, दानाजन्य लगायत अन्य वस्तुको मुल्यवृद्धि हुदा उपभोक्ताहरु मारमा परेका छन् ।

केही समय अघि भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि चामल प्रतिबोरा ४ सयले वृद्धि भएको थियो । भारतले धान निर्यातमा लगाएको २० प्रतिशत कर हटाएपछि चामलको मूल्य घटेर आए पनि नेपाली चामल मिलवालाले भने पुरानो मौज्दात भन्दै महँगोमा बेचिरहेका छन् ।

यस्तै दशैताका २३५ मा विक्री भएको सनफ्लावर तेल अहिले २९० रुपैयामा विक्रि भइरहेको छ । दशैतिहारपछि बजारमा दैनिक उपभोग्य वस्तुको मुल्य झण्डै १५ प्रतिशतले मुल्य वृद्धि भएको नेपाल खुद्रा संघले जनाएको छ ।

उत्पादक र आयातकर्ताबाटै मुल्य वृद्धि भएर आएको संघको भनाई छ । उत्पादकहरुले डलरको भाउ बढेको र आयातकर्ताले भन्सारकर भन्दै मुल्यवृद्धि गरिरहेका छन् ।

बजारमा उपभोग्य वस्तुको भाउ बढ्ने क्रम रोकिएको छैन । डलरको भाउ, भन्सारकर तथा निर्धारित मुल्यलगायतका बहानामा व्यापारीहरुले अस्वभाविक मुल्य वृद्धि गरिरहेका छन् ।

तर वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा डलरको भाउ बढेको समयमा आयातित सामान र प्रतिबन्धित समयमा आयात गरिएका सामग्रीको भण्डार नसकिएकाले कृतिम मुल्य वृद्धि जस्तो देखिएको बताउछ । विभागले निरन्तर अनुगमन गरिरहने र त्रुटीहरुलाई नियन्त्रण गर्ने दाबी गरेको छ ।

तर बजार नियामक निकायले प्रभावकारी अनुगमन नगर्दा उपभोक्ताहरु मारमा परेको उपभोक्ताकर्मीहरुको आरोप छ । झारा टार्नकै लागी अनुगमन गर्दा उपभोक्ताहरु सधै मारमा पर्ने उनीहरुको भनाई छ ।

निर्वाचनको मुखमा जनता अस्वभाविक मुल्यवृद्धिको भार खेप्न बाध्य छन् । मूल्यवृद्धिका विषयमा नियामक निकाय गम्भीर र सक्रिय देखिएपनि, यो पर्याप्त छैन । तसर्थ अनुगमनको दायरा बढाई उपभोक्ताप्रति जिम्मेवार हुन आवश्यक छ ।