Mon Nov 28 2022
मुख्य खबर

चुनावका लागि काठमाण्डौबाट बाहिरिनेको संख्या बढ्यो

आउँदो आइतवार हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि काठमाडौँबाट बाहिरिनेको संख्या बढ्न थालेको छ ।

कतिपय, बस रिजर्भमा लिएर काठमाडौँबाट आफ्नो गाउँ घर जाँदै छन् । पार्टीका सम्पर्क समन्वय समिति र उम्मेदवारबाट बस रिजर्भ भएका हुन् ।

आफैँ टिकट काटेर जानेको संख्या पनि बढेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार सार्वजनिक गाडीमार्फत नै विभिन्न नाका भएर ५५ हजारभन्दा धेरै यात्रु काठमाडौँबाट बाहिरिएका छन् ।

यो समयमा साढे ४१ हजार यात्रु काठमाडौँ भित्रिएका छन् । काठमाडौँ छाड्नेको संख्या शुक्रबारदेखि अझ बढ्ने अनुमान छ । शुक्रबारदेखि ५ गतेसम्म मतदानस्थल रहेका शिक्षण संस्थाहरू बन्द हुनेछन् । यस्तै, सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गते बन्द हुने छन् । चुनावका लागि झण्डै पाँच लाख यात्रु काठमाडौँबाट बाहिरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अनुमान छ ।

निर्वाचन आयोगले भोट हाल्ने दिन मङ्सिर ४ गते अत्यावश्यकबाहेकका सार्वजनिक गाडी चलाउन नपाइने जानकारी गराइसकेको छ ।