Wed Dec 7 2022
मुख्य खबर

तनहुँमा निर्वाचन तयारी पुरा

नारायण खड्का, तनहुँ-

तनहुँमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको आवश्यक तयारी गरिएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पुरा गरी सुरक्षा व्यवस्था सहित मतदान केन्द्र तर्फ कर्मचारीहरु जान थालेका छन् ।

तनहुँका दुई निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नका लागि नियुक्त भएका म्यादी प्रहरी, सुरक्षाकर्मी तथा मतदान गराउनका लागि खट्टिएका निर्वाचन अधिकृत तथा सहायक निर्वाचन अधिकृतका साथै अन्य कर्मचारीहरु आ–आफ्नो निर्वाचन केन्द्र तर्फ जान थालेका छन् ।

मंसिर ४ गते हुने निर्वाचनका लागि तनहुँमा आवश्यक तयारी पूरा भएको छ । सबै मतदान केन्द्रका लागि खटिएका म्यादी प्रहरीहरु सदरमुकाम दमौलीमा जम्मा भएर जिम्मेवारी पूरा गरेर फर्किने भन्दै मतदान केन्द्र तर्फ लागेका छन् ।

कर्मचारीहरु पनि निर्वाचनका लागि आवश्यक पर्ने सामाग्रीहरु जिल्ला निर्वाचन कार्यालयबाट बुझेर आ–आफ्नो मतदान केन्द्र तर्फ जान थालेका छन् तनहुँमा कायम गरिएका १४२ वटा मतदान स्थललाई तीन वर्गमा वर्गीकरण गरी आवश्यक सुरक्षा व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए ।

तनहुँको १० स्थानीय तहका ८५ वटा वडामा रहेका १४२ मतदान स्थलमा कायम गरिएको ३०५ मतदान केन्द्रबाट २ लाख ४८ हजार ४९५ जना मतदाताका लागि २ हजार ४४० जना कर्मचारी खटिएका छन् ।

तनहुँको निर्वाचन क्षेत्र नं. १ मा १ लाख २३ हजार ४९० र निर्वाचन क्षेत्र नं. २ मा १ लाख २५ हजार ५ जना गरी २ लाख ४८ हजार ४९५ जना मतदाता छन् । क्षेत्र नं. १ मा ६९ मतदान स्थलमा १५२ वटा मतदान केन्द्र तथा क्षेत्र नं. २ का ७३ मतदान स्थलमा १५३ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।