Mon Nov 28 2022
मुख्य खबर

लुम्बिनी प्रदेशको अस्थायी राजधानी पुनः बुटवल सार्न कांग्रेस र एमाले सांसदहरू एकसाथ

गृहमन्त्री एवं सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बालकृष्ण खाँणले लुम्बिनी प्रदेशको राजधानी हचुवाका भरमा दाङ सारिएको बताउनुभएको छ ।

गृहमन्त्री खाँणले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल नै उपयुक्त भएको बताउनुभएको हो । चुनावी घरदैलोका क्रममा उहाँले रुपन्देही सबै जिल्ला र केन्द्रिय राजधानी तथा मुख्य शहरहरुसँग पनि सहज जोडिएकाले बुटवललाई अस्थायी राजधानी तोकिएपनि कोरोना कालमा देश लकडाउन भएको बेला बुटवलबाट दाङ सारिएकोमा रुपन्देहीका जनतामाथि अन्याय भएको बताउनुभएको हो ।

गृहमन्त्री खाँणले दाङमा लुम्बिनी प्रदेशको राजधानी सार्नु उचित नभएकाले राजधानी बुटवलमै फर्ता गर्न जनताको साथ र सहयोगको अपेक्षा राखेको बताउनु भयो ।

यता नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेलपनि काँग्रेस नेता खाँणको भनाइमा सहमत हुनुहुन्छ । उहाँले आफूले लुम्बिनी प्रदेशको राजधानी बुटवलमै हुनुपर्ने कुरा बारम्बार भनिसकेको बताउनु भयो ।

चुनावी घरदैलोका क्रममा उहाँले आफ्नो निर्णय विपरित प्रदेश सभाले बुटवलबाट अन्यत्र सारेपनि केन्द्र र प्रदेशको राजधानी हुनका लागि आधारभुत आवश्यकताका दृष्टिकोणले सबैभन्दा उपयुक्त ठाउँ बुटवल नै रहेको बताउनु भयो ।

उपाध्यक्ष पौडेलले प्रदेश सभाको निर्णय उसको अधिकार भएपनि प्रदेश सभाले चाहेमा पुनः प्रदेशको राजधानी अन्यत्र सार्नसक्ने बताउनु भयो ।

उपाध्यक्ष पौडेलले रुपन्देहीका जनताले निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्न, रुपन्देही जिल्लालाई आर्थिक विकासको केन्द्र बनाउन र शिक्षा, स्वास्थ्य, रोजगारीमा प्राथमिकता दिन माग गरेको बताउनु भयो ।