Sun Nov 27 2022
मुख्य खबर

ट्राफिक प्रहरीको भूमिकामा खटिए म्यादी र जनपद, निर्वाचनमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण

अविशेक सुनार-

उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरू निर्वाचनका लागि बाहिर खटिँदा म्यादी र नगर प्रहरी ट्राफिक व्यवस्थापनमा खटिएका छन् । ८० प्रतिशत ट्राफिक प्रहरी बाहिरी जिल्लामा गएसँगै जनशक्ति अभाव पूर्ति गर्न म्यादी प्रहरीलाई ट्राफिक व्यवस्थापनमा खटाईएको हो । तर, निर्वाचनको समयमा सवारीको चाप बढी हुने हुँदा ट्राफिक व्यवस्थापन थप चुनौती थपिएको छ ।

काठमाडौं उपत्यकाको मुख्य समस्याको रुपमा रहेको ट्राफिक व्यवस्थापन निर्वाचन नजिकिएसँगै थप चुनौतीपूर्ण बनेको छ । उपत्यकामा खटिदै आएका १७ हजार ट्राफिक प्रहरी मध्ये ८० प्रतिशत निर्वाचनका लागि उपत्यका बाहिर खटिएका छन् ।

निर्वाचनको समयमा ट्राफिक प्रहरीको उपस्थित नहुँदा सवारी जामको समस्या अझै बढेको देखिएको छ । ट्राफिक प्रहरी बाहिरी जिल्लामा खटिएपछि जनशक्तिको अभाव पूर्ति गर्न ट्राफिकको ठाउँमा म्यादी र प्रहरी जवानको सहयोग लिईएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

मंसिर ४ गतेको निर्वाचनका लागि ७५ हजार नेपाली सेना, ६२ हजार नेपाल प्रहरी, ३२ हजार शसस्त्र प्रहरी खटिएका छन् । निर्वाचनका लाथि नेपाल प्रहरीले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको छ । त्यसमध्ये निर्वाचन आचारसंहिता उल्लङघन गर्ने ९० म्यादी प्रहरीलाई कारबाही गरिएसँगै जम्मा १ लाख १४ हजार ८ सय ७७ जना उपस्थित छन् ।

यता, ट्राफिक व्यवस्थापनमा सहयोग गर्न काठमाडौं महानगरपालिकाले पनि प्रत्यक चोकमा २/२ जना गरी नगर प्रहरी खटाएको छ । नगर प्रहरीलाई पनि ट्राफिक सम्बन्धि तालिम दिएको हुँदा व्यवस्थापनमा थप सहज हुने महानगर प्रहरी बलको विश्वास छ ।

अहिले मुख्य चोकमा मात्र ट्राफिक प्रहरी छन् भने भित्री सडकमा म्यादी प्रहरीले मात्र ट्राफिक व्यवस्थापन गरेका छन् । ट्राफिक व्यवस्थापनको अनुभव नभएका जनपद प्रहरीलाई ट्राफिक व्यवस्थापनमा हम्मे हम्मे परिरहेको छ ।

उपत्यकाको ट्राफिक समस्याका बीच तालिम लिएका म्यादी र नगर प्रहरीबाट भइरहेको ट्राफिक व्यवस्थापनमा सवारी चालक र सर्व साधारणको सहयोग पनि उत्तिकै आवश्यक छ ।