Thu Dec 1 2022
मुख्य खबर

जनप्रतिनिधिले नै लिए ठेकेदार कम्पनीको सवारीसाधन नियन्त्रणमा

शंखर पहाडी, सर्लाही-
सर्लाहीको लालबन्दी नगरपालिका १४ मा विद्युत सेवा विस्तार गर्ने जिम्मा पाएको ठेकेदार कम्पनीको सवारीसाधन जनप्रतिनिधिले नियन्त्रणमा लिएका छन् ।

करिब ३ वर्ष पहिला नै विद्युतको पोल गाड्ने र तार टांग्ने काम सकिए पनि अझै बिजुली वितरण नभएपछि आक्रोशित जनप्रतिनिधिले ठेकेदार कम्पनीको सवारीसाधन नियन्त्रणमा लिएका हुन् ।

आर्थिक वर्ष २०७६/०७७ मा नेपाल विद्युत प्राधिकरणले ठेक्का लगाएर पोल गाड्ने र तार टांग्ने काम गरेको ३ वर्ष भएपनि विद्युत सेवा सुचारु नहुँदा स्थानीय अँध्यारोमै बस्न बाध्य छन् ।

यस सम्बन्धि रिपोर्ट सगरमाथा टेलिभिजनले प्रसारण गरेपछि त्यहाँ पुगेको ठेकेदार कम्पनीको सवारी साधन जनप्रतिनिधिले नियन्त्रणमा लिएका हुन् ।

सर्लाहीको लालबन्दी नगरपालिका १४ नारायण खोला,मोटर दोभान,डाइनी,तोरीबारी,१७ कठ्ठा,१५ बिघा र कामीटार लगायतका स्थानमा टान्सफर्मर राख्ने विषयमा स्थानियले विवाद सृजना गरेपछि ठेकेदार कम्पनीले तार पोलको काम सकेर पनि विद्युत सेवा विस्तार गर्न नपाएको भनिरहेको छ । तर ठेकेदारले पहिलै भुक्तानी लिई सकेका कारण विद्युत सेवा विस्तार गर्न चासो नदेखाएको जनप्रतिनिधिको आरोप छ ।

नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७६/०७७ मा एक वर्षमा काम सकाउने गरि श्री लक्ष्मी नारायण महादेव निर्माण सेवा,मैत्री निर्माण सेवा र किरण निर्माण सेवालाई करिब रु ३० लाख लेभर खर्चमा ठेक्का दिएको थियो ।

कोरोना महामारी,चाडपर्वका साथै निर्माण समाग्री उपलब्ध नहँदा र स्थानिये निर्वाचनका कारण विद्युत सेवा सुचारु गर्न नसकिएको विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीको तर्क छ ।

ठेकेदार कम्पनीले पुरै रकम निकासा लिई सकेको भएपनि विद्युत सेवा सुचारु गर्न ध्यान नदिँदा पोल गाड्ने र तार टांग्ने काम गरेको ३ वर्षमा पनि विद्युत सेवा सुरु भएको छैन ।

अहिले विद्युतका पोलहरु ढल्ने,तार भुँइमा लत्रिने गर्नुका साथै टान्सफर्मर समेत पोलबाट तल झरिसकेको छ । ठेक्का सम्झौतामा एभिसि केवल लगाउने भनिएको भएपनि ओ ५,ओ ३ अर्थात नाङ्गो तार लगाएको छ ।

सर्लाहीको कर्णाली भनेर चिनिने सो क्षेत्रमा कुनै निर्वाचन वा जनप्रतिनिधिहरुको समेत ध्यान नपुगेको स्थानियको गुनासो छ ।