Wed Nov 30 2022
देश

गुल्मी कारागारमा ३७ कैदीबन्दीले गरे मतदान

गुल्मी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गुल्मी जिल्ला कारागारमा ३७ जना कैदीबन्दीले मतदान गरेका छन् । जिल्ला कारागार गुल्मीमा रहेका कैदीबन्दीमध्ये ३३ जना पुरुष र चार जना महिलाले मतदान गरेको मतदान अधिकृत रामबहादुर कुँवरले जानकारी दिए ।

कारागारमा मतदान गर्न अस्थायी मतदान केन्द्र निर्धारण गरिएको थियो । जिल्ला कारागारमा रहेका ८० जना कैदीबन्दी छन्, जसमध्ये ३७ जनाले मतदान गर्न पाएका हुन् ।

गुल्मीका विभिन्न स्थानमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका २ लाख २३ हजार ६१५ जना मतदाताका लागि २७९ वटा मतदान केन्द्र तोकिएको छ ।