
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले परामर्श गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि भएको भेटमा सरकार सञ्चालनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा पूर्व गृहमन्त्री लामिछानेले गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्ने माग गरेको बुझिएको छ । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पाए लगत्तै सो दलको बैठकले पुनः उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिनुपर्ने माग गरेको थियो ।
तर प्रधानमन्त्रीको नेतृत्वमा रहेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा गृह मन्त्रालय प्रधानमन्त्री स्वयम्ले अहिले राख्नुभएकाले माओवादी केन्द्रले नै गृह मन्त्रालय लिनुपर्ने सुझाव आएको थियो । चितवन २ बाट निर्वाचित सांसद लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले पद खारेज गरेको थियो ।