
सभामुख देवराज घिमिरेले छोटो समयमै संसदीय गतिविधिबाट नागरिकका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भुमिका खेल्न सांसदहरुलाई आग्रह गर्नुभएको छ ।
आज संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नागरिकका समस्यहरुको चाङ बढ्दै गइरहेकाले त्यसको समाधान गर्न संसदमा आफ्नो भुमिकालाई बलियो बनाउनुपर्ने बताउनु भयो । सभामुख घिमिरेले विगतमा कतिपय सांसदहरुको आचार, व्यवहारहरु जनमुखी हुन नसकेको भन्दै संसदमा आइसकेपछि जनतासँग गरेका प्रतिवद्धताहरु पूरा गर्ने हिसावबाट अघि बढ्न सुझाव दिनुभयो ।
उहाँले विगतमा संसदमा भएका राम्रा कुराबाट शिक्षा लिँदै सांसदहरुले आफ्नो संसदीय भुमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनु भयो । उहाँले नागरिकले संसदका गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट सांसदहरुको काम खोजिरहेको बताउनु भयो
सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकार र प्रमुख प्रतिपक्षको हुने बताउनु भयो ।