
काठमाडौं । अमेरिकी विकास सहयोग नियोग यूएसएआईडीका प्रमुख समान्था पावर नेपाल आइपुगेका छन् ।
उनी दुई दिने भ्रमणका लागि आज (मंगलबार) बिहान काठमाडौं आइपुगेका हुन् । पावरले आज प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई र अर्थमन्त्री विष्णु पौडेलसँग भेट्ने कार्यक्रम तय भएको यूएसएआईडीले जनाएको छ ।
उनले भ्रमणमा नेपालका नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी लगायतलाई भेटेर नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउने प्रयास र उपलब्धिहरूबारे छलफल गर्ने छन् ।
अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आएका हुन् ।