
काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । आज साँझ ५ बजेबाट केन्द्रीय समितिको बैठक भर्चुअल माध्यमबाट बस्ने तयारी रहेको पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिएका छन् ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने उनले जानकारी दिए । यसअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले भर्चुअल माध्यमबाट केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।
भर्चुअल बैठकका लागि जुम आइडी र पासवर्ड सम्बन्धित माध्यमबाट पठाइने उनले बताए । माओवादी केन्द्रमा पदाधिकारी २२ जना, स्थायी समिति सदस्य ४४ जना, केन्द्रीय समिति सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय समिति सदस्य दुई सय दुई जना रहेका छन् । यसअघि बसेको स्थायी समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता पाएको हो ।