
काठमाडौं । कुमारी आमाको नामले परिचित निहारिका राजपुतले आफ्नो प्रेमी शिवराज श्रेष्ठसँग लगनगाँठो कसेकी छन् । उनीहरूले जनकपुरको जानकी मन्दिरमा विवाह गरेका हुन् ।
निहारिकाले शिवराजमाथि बलात्कारको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दा विचाराधीन छँदै धनुषा जिल्ला अदालतमा उनले शिवराजसँग मिलापत्र गरिन् । उनीहरूबीच विवाह गरेर श्रीमान्-श्रीमतीका रूपमा मिलेर बस्ने समझदारी भएको थियो । उनीहरूका पहिल्यै एक छोरा छन् ।
आज भएको विवाहमा निहारिकाको माइती परिवार उपस्थित भएनन् । शिवराजसँग प्रेम भएपछि माइतीले उनलाई ‘बहिष्कार’ गरेका थिए । शिवराजको परिवार र निहारिकाका केही साथीहरू विवाहमा उपस्थित थिए ।