
राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को आसन्न चुनावमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने माग भएको छ । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले संविधानले ३३ प्रतिशत सुनिश्चित गरिसकेकोमा त्यसलाई ५० प्रतिशतमा लैजानुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।
मंगलबार अनेरास्ववियूका महासचिव आरती लामाको नेतृत्वले त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयलाई ज्ञापन पत्र बुझाएको हो। ‘आज नेपालको संविधान २०७२ ले हरेक क्षेत्रमा महिला सहभागिता अनिवार्य अथवा ३३ प्रतिशत सुनिश्चित गरेको अवस्था छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यसकारण त्रिभुवन विश्वविद्यालयले आगामी चैत्र ५ गते सम्बन्धन प्राप्त क्याम्पसहरुमा घोषणा गरेको स्ववियु निर्वाचनमा पनि कम्तिमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गराउँदै ५० प्रतिशत महिला अनिवार्य सहभागिता हुनुपर्ने विषयमा हाम्रो संगठन अनेरास्ववियू जोडदार माग गर्दछ।’
राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य भइसकेको सन्दर्भमा स्ववियू चुनावमा त्यसलाई बढाउनका लागि दवाव दिन आफूहरुले ज्ञापनपत्र बुझाएको लामाले जानकारी दिइन् । त्रिभुवन विश्वविद्यालयले ५ चैतमा स्ववियू चुनाव गर्दै छ। स्ववियू चुनाव मिश्रित निर्वाचन प्रणालीमा हुँदैछ।