
काठमाडौं ।आईसीसी विश्वकप लिग टू अन्तर्गतको नेपाल सिरिजको अन्तिम खेलमा घरेलु टोलीले आज मंगलबार स्कटल्याण्डसँग खेल्दैछ । विश्वकप लिग टूको बिजेता बनिसकेको स्कटल्याण्डविरुद्ध नेपालको खेल टियु मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
२०१९ देखि सुरु विश्वकप लिग टूमा स्कटल्याण्डले मंगलबार आफ्नो अन्तिम खेल खेल्दैछ। तीन खेल बाँकी रहदै लिग टू को च्याम्पियन बनेको स्कटल्याण्डले मंगलबारको नेपालको खेल पछि नै लिग टू ट्रफी पाउने छ ।
शुक्रबारको पहिलो खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराएको नेपाल मंगलबारको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहान्छ। यदी यो खेल जितेमा नेपालले केही कीर्तिमान बनाउने छ। नेपाल २०१९ देखि सुरु आईसीसी विश्वकप लिग टूमा आफ्नो घरेलु भूमीमा आयोजित एक त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बन्नेछ।
मंगलबारको खेलमा स्कटल्याण्डलाई पराजित गर्न सकेमा नेपालले आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमा पहिलो पटक लगातार चार खेल जित्नेछ।
नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ९ खेलमा कम्तिमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम हुनेछ। शीर्ष तीनमा पर्दै सिधा विश्वकप छनोटमा स्थान बनाउँन नेपालले सबै खेल जित्नुपर्ने हुन्छ।
स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ।