काठमाडौं । सातदोबाटो युथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा सोमबार त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६-५ गोल अन्तरले हराउँदै सातदोबाटो उपाधि नजिक पुगेको हो ।
निर्धारित ९० मिनेटको गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा सातदोबाटोले बाजी मार्यो। पेनाल्टीमा सातदोबाटोका सुदिप गुरुङ, अब्दुल अबुबकारी, एकराज बुढाथोकी, विलियम एसीडोउ, सुरज गुरुङ, पासाङ लामाले गोल गरे ।
दिपक राज ठकुरीको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाउ गरे । आर्मीका दिनेश हेन्जन, टेक बहादुर बुढाथोकी, सेसेहाङ आङदेम्बे, नवयुग श्रेष्ठ र दिपक गुरुङले गोल गरे ।
सुदिल राईको प्रहार सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाए भने विकास खवासको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो । अब फाइनलमा सातदोबाटोले आयोजक केपी ओली एफसी र मछिन्द्र फुटबल क्लबबीचको विजेतासँग खेल्नेछ ।
दुई टोलीबीचको सेमिफाइनल खेल आइतबार वर्षाले प्रभावित गरेको थियो ।
एन्फा कम्प्लेक्समा दोस्रो हाफको खेल चलिरहदाँ मेघगर्जन सहित वर्षा भएपछि खेल रोकिएको थियो । दुई टोलीबीचको खेल दोस्रो हाफबाट पुन: आज खेलाईएको हो ।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउने छन् ।