काठमाडौँ— नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामा जोड दिंदै महिलाको सशक्तिकरण अभियानमा एक भएर लाग्न सबैमा अपिल गरेका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज बुधबार शुभकामना सन्देश जारी गर्दै उनले सो अपिल गरेका हुन् ।
“महिला दिदीबहिनीहरुलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न तथा मुलतः शिक्षामा जोड दिंदै महिलाको सशक्तिकरण गर्ने अभियानमा सबै एक भएर लाग्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक आह्वान गर्दछु” शुभकामना सन्देशमा उल्लेख छ ।
महिला अधिकार स्थापित गर्ने संघर्षको दिनका रुपमा आज ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउने गरिएको भन्दै अध्यक्ष ओलीले संसारभरका महिलालाई समानताको हक अधिकार स्थापित गर्न दिवसले प्रेरणा मिल्ने शुभकामना व्यक्त गरेका छन् ।
नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुशरणीय रहँदै आएको उनले चर्चा गरेका छन् । ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनमा नेपाली महिलाले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको उनको भनाइ छ । देश विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीको समान सहभागिता अत्यन्त जरुरी छ रहेको उनले चर्चा गरेका छन् ।
नेकपा (एमाले) नेतृत्वको सरकारले महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको प्रतिफलस्वरुप नेपालको लैङ्गिक विकास सूचकाङ्कमा उल्लेख्य सुधार भएको उनले दावी गरेका छन् । संविधानमा महिलाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरिएको उनले बताए ।
संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व संविधानद्वारा नै सुरक्षित गरी एसियाकै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा नेपाल पर्न सफल भएको उनले चर्चा गरे । आज स्थानीय तहमा हजारौं महिलाको प्रतिनिधित्वले राजनीति र विकासमा महिलाको योगदान बढेको उनको भनाइ छ ।
समाजको न्युन चेतनाका कारण समाजमा महिला हिंसा र उत्पीडनका अवशेषहरु कायम रहेको चर्चा गर्दै अध्यक्ष ओलीले कानूनी प्रवन्ध र राज्यको प्रयासले मात्र यस्ता उत्पीडनलाई निमिट्यान्न पार्न कठिन हुने हुनाले सबैले हातेमालो गर्नुपर्ने उनको सुझाव छ । “महिलामाथि यौन हिंसाजस्ता जघन्य अपराधका घटना हामी दिनदिनै सुन्न र भोग्न वाध्य छौँ । अज्ञानता र कुरीतिको आड लिएर हुने खराव अभ्यासका कारण वोक्सी, छाउपडी, दाइजो, बालबिवाह र जातीय विभेदजस्ता उत्पीडनकारी अवशेष कायमै छन्” उनले शुभकामना सन्देशमा भनेका छन् ।
मुलुकमा सुशासन, विकास र सामाजिक न्यायको अगुवा पार्टी एमाले भएको चर्चा गर्दै अध्यक्ष ओलीले भनेका छन्, “हाम्रै सरकारले महिला र किशोरीमाथि हुने बलात्कार र हिंसाको नियन्त्रण र कारवाहीसम्वन्धी कानूनी व्यवस्थालाई थप कडा बनाउँदै तेजावजन्य पदार्थको आक्रमण गर्नेलाई सजाय बृद्धि तथा पीडितलाई उचित क्षतिपूर्ति र रोजगारीको व्यवस्था हुनेगरी कानूनलाई सुदृढ बनाएको थियो । समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो गन्तव्यमा सामाजिक न्याय महत्वपूर्ण आयाम हो ।”