काठमाडौँ— मार्च १० मा अमेरिकाको बैंकिङ नियामकहरुले सिलिकन भ्याली बैंक (एसभीबी) वित्तीय समूहलाई बन्द गरिदिए । निक्षेपकर्ताहरुको पैसा जोगाइदिन सो बैंकलाई रिसिभरशिप (दामाशाही)मा राखियो ।
एसभीबी एक्कासी धराशयी बनेपछि यसको झट्का स्टार्ट अप कम्युनिटीसम्म पुगेको छ । बैंक स्टार्ट अप कम्पनीका लागि लगानीको भरपर्दो स्रोतको रुपमा रहेको थियो ।
बुधवार बैंकले केही रकम खोज्दैथियो । तर ४८ घन्टाभित्रै ४० वर्षयता चलिरहेको सो बैंक बन्दै भयो । शुक्रवार नियामकहरुले बैंक बन्द गरेर यसको निक्षेप जफ्त गरिदिए । यो सन् २००८ को वित्तीय संकट यता अमेरिकाको सबैभन्दा ठूलो बैंकिङ असफलता हो । अहिलेसम्मको भने यो बैंकिङ असफलताको दोस्रो ठूलो घटना हो ।
बैंकको बासलात बढाउन उसलाई मात्रै २ अर्ब २५ करोड डलर चाहिएको थियो । प्राविधिक कम्पनीहरुलाई ठूलो रकम कर्जा दिएको बैंकले आफ्नो अस्तित्व जोगाउन सकेन । कसलाई के को धन्दा घरज्वाईलाई खानकै धन्दा भने झैं अहिले भेञ्चर क्यापिटल र स्टार्ट अप कम्पनीहरुलाई भने एसभीबीको पतनपछि उसको भूमिका कसले निभाइदेला, अब उप्रान्त आफूलाई चाहिएको पैसा कसले देला भनेर टाउको दुख्न थालिसकेको छ ।
महँगी नियन्त्रण गर्न धमाधम ब्याजदर बढाउने अमेरिकी केन्द्रीय बैंकको आक्रामक नीतिलाई एसभीबीको अवसानको मुख्य कारण मानिएको छ । यसको असर यतिमा मात्रै पक्कै सीमित हुने छैन । यसका अन्य दूरगामी असर आउनेछन् । एसभीबी अमेरिकाको १६ औं ठूलो बैंक थियो । स्टार्ट अपहरुले अहिले नै अनेकन समस्या भोगिरहेका छन् । एसभीबीको पतनपछि उनीहरुलाई आफूलाई चाहिएको रकमको जोहो गर्न नै सकस हुने निश्चितप्रायः छ ।
उच्च ब्याजदरको कारण उत्पन्न विकृतिले एसभीबीको पतन भएको हो । एसभीबीसँग पहिला देखि नै पूँजी कम थियो । ब्याजदर धमाधम बढ्न थालेपछि आईपीओ जारी गर्न र निजी स्तरबाट रकमको जोहो गर्न स्टार्टअपहरुले उसँग पैसाका लागि झनै धेरै हात थाप्न थाले । बढ्दो कर्जा प्रवाहको माग पूरा गर्न विक्रीका लागि उपलब्ध ऋणपत्र घाटै खाएर भएपनि बेच्न बैंक बाध्य बन्यो । क्रिप्टोमा आधारित सिल्भरगेट धराशयी बनेकै बेलामा एसभीबीलाई ताजा पूँजी चाहियो ।
यस्तो भएपछि भीसीहरुले पनि बिहीवार आफ्नो पोर्टफोलियो कम्पनीहरुलाई सकेसम्म चाँडै पैसा झिकिहाल्न निर्देशन दिए । बिहीवार मध्याहन्न एउटा कलमा क्लाइन्टहरुलाई शान्त रहन अनुरोध गर्दै गर्दा एसभीबीका सीईओ ग्रेग बेकर आफैं भने अशान्त देखिन्थे । नियमित समयको कारोबारमा बैंकको शेयर ६० प्रतिशतभन्दा धेरैले गुमिसकेको थियो । २ अर्ब ५० करोड डलर बैंकले उठाउने अन्तिम पैसा हो भनेर बेकरले आश्वासन दिनै सकेनन् ।
बिहिवार सकिँदासम्म ग्राहकहरुले बैंकबाट ४२ अर्ब डलर निक्षेप फिर्ता लगेको क्यालिफोनिर्याको नियामक फाइलिङले देखाएको छ । उक्त दिन कारोबार बन्द हुँदा बैंकको बासलात ९५ करोड ८० लाख डलर माइनसमा थियो । बैंकसँग अन्य स्रोतबाट रकम उठाउन पर्याप्त धितो पनि नभएको नियामकले भनेको छ ।
बैंक एक्कासी टाट पल्टिनुलाई बैंकका एक पूर्व कर्मचारीले प्रविधिमा लगानी गर्ने समूदायको एक अर्काबीच जेलिएको सम्बन्धलाई देखाएका छन् । बैंक टाटै पल्टिने देखेपछि युनियन स्क्वायर भेञ्चर्स र कोटु म्यानेजमेन्ट समेतका प्रमुख कोष कोषहरुले आफ्ना ग्राहकहरुलाई एसभीबीमा भएको पैसा सबै धमाधम झिक्न भन्दै मेल नै गरेका थिए । यसमाथि सामाजिक सञ्जालले पनि त्रासमाथि त्रास थपिदियो । एसभीबीको स्थितिसम्बन्धी तथ्यबारे लगानीकर्ताहरु गलत देखिए ।
बैंकमा तरलताको समस्यै थिएन । भए केही थियो । तर पैसा झिकिहाल भनेर मेलहरु आउन थालेपछि निक्षेपकर्ताहरुले अत्तालिएर आफ्नो निक्षेप झिक्न थाले । अनि अर्बौ डलर भएको बैंक केही समयमा टाट पल्टियो । बैंकमा व्यापार सामान्य छ भन्दै एसभीबीका केही ग्राहकहरुलाई मेल गरिएको थियो । तर केही समस्या भइहाल्यो भने के गर्नु भनेर सबैले आ–आफ्नो पैसा जोगाउन तिर लागे ।
जति जति निक्षेप फिर्ता हुँदै गयो । बैंक डुब्दै गयो । बैंकले शेयर बेच्ने प्रयास पनि त्यागिदियो । बैंकले आफूलाई बेचिदिने क्रेता खोज्यो । निक्षेप छुमन्तर हुन थालेपछि त्यो प्रयास पनि असफल भयो ।
समग्रमा भन्नु पर्दा फेडको ब्याजदर वृद्धि, बैंकका केही ग्राहकहरुको नगद अभाव, घाटामा बन्ड पोर्टफोलियो बेच्नु, शेयर विक्रीको असफल प्रयासले बैंकको अवसान निम्त्यो । स्टार्ट अप र भेञ्चर क्यापिटल कम्पनीहरुलाई ऋण दिने बैंक अब आफ्नो दायित्व पूरा गर्न आवश्यक पैसा तिर्न नसक्ने अवस्थामा छ ।
अहिले बैंक दामाशाहीमा पुगेको छ । एसभीबीको अवसानको खबरसँगै शुक्रवार विश्व शेयर बजार रक्ताम्मे बनेको थियो । यसको असर अन्यत्र कसरी पोखिन्छ भनेर चाँहि हेर्न बाँकी नै छ । एजेन्सीहरुको सहयोगमा