
काठमाडौं – नेपालका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय समकक्षी द्रौपदी मुर्मूबीच टेलिफोन वार्ता भएको छ।
गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेललाई यसअघि नै भारतले बधाई दिइसकेको छ।
मुर्मूले राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा पौडेलाई बधाई दिएकी हुन्। टेलिफोन संवादका क्रममा मुर्मूले पौडेलको कार्यकालमा नेपाल-भारत सम्बन्ध अझै बलियो बन्दै जाने विश्वास पनि लिएकी छन्।
भारतका माननीय राष्ट्रपति द्रौपदी मुर्मूले नेपालका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग टेलिफोन वार्ता गर्नुभयो, नेपालस्थित भारतीय दूतावासले भनेको छ, वहाँले राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा पौडेललाई बधाई दिनुका साथै नेपाल–भारत विशिष्ट सम्बन्धलाई थप मजबुत बनाउने उपायबारे छलफल गर्नुभयो।
टेलिफोन वार्ताका क्रममा दुवै देशका राष्ट्रपतिले नेपाल(भारत सम्बन्ध अद्धितीय र बहुआयामिक रहेको चर्चा गरेका थिए। उनीहरुले द्विपक्षीय सम्बन्ध अघि बढाउन र दुई देशका जनताबीचको मित्रतालाई थप मजबुत गर्ने उपायबारे पनि संवाद गरेका छन्।
भारतीय दूतावासले राष्ट्रपति मुर्मूले पौडेलको पालामा भारत(नेपाल द्विपक्षीय सम्बन्ध अझै उचाइमा पुग्ने विश्वास पनि लिएको जनाएको छ।