जोडिनुहोस
  • होमपेज
  • अबको जोखिमः आगलागी, डढेलो, हावाहुरी र चट्याङ

अबको जोखिमः आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाडौँ ।भर्खरै सुरु भएको चैतमास, पछिल्लो साताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यसपटकको हिउँदमा राम्ररी वर्षा भएको छैन । त्यसैले अबको दुई महिना आगलागी, डढेलो, चट्याङ र हावाहुरीको उच्च जोखिम छ ।

पछिल्लो साता मुलुकभर वर्षा भएकाले आगलागीको क्रम केही रोकिएको छ । अब वर्षा रोकिनेबित्तिकै आगलागी ह्वात्तै बढ्ने यस क्षेत्रका विज्ञहरूले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो समयमा सबैभन्दा बढी आगलागी र डढेलोले क्षति पुर्‍याउने भएकाले विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिइएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल पछिल्लो एक दशकको तथ्याङ्क हेर्ने हो भने आगलागीको दर बढ्दै गएको र त्यसले पुर्‍याउने क्षतिसमेत बढिरहेको बताउँछन् । ‘अझ पछिल्लो पाँच वर्षको तुलना गर्दा आगलागीको ग्राफ गुणाङ्कले बढेको छ’, पोखरेलले भने, ‘यो बेला विशेष सावधानी अपनाउनुपर्छ, स्थानीय तहलगायत सरोकारवाला निकायले त्यसको न्यूनीकरणका लागि पूर्वतयारी तथा आगलागी भइहालेको खण्डमा नियन्त्रणका लागि आवश्यक तयारी गर्ने बेला हो ।’

प्राधिकरणका अनुसार बुधबार मात्रै १८ विपद्जन्य घटना भएका थिए । त्यसमध्ये १६ घटना आगालगी, हावाहुरी चट्याङ र डढेलोका छन् । गत वैशाखदेखि चार हजार ४८ वटा विपद्जन्य घटना भएकामध्ये सबैभन्दा बढी दुई हजार छ सय १३ घटना आगालागीका छन् । उक्त आगलागीमा परेर एक सय दुई जनाको मृत्यु भएको छ भने तीन सय ५२ जना घाइते भएको तथ्याङ्क प्राधिकरणसँग छ ।

आगलागीबाट मानवीय क्षतिका साथै भौतिक क्षति पनि ठूलोमात्रामा हुने गरेको छ । ती घटनामा दुई अर्ब ३० करोड बढीको क्षति भएको छ । तीन हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । यस्तै हुरीबतासका एक सय घटना हुँदा १० जनाको मृत्यु भएको छ भने डढेलोका एक सय ३४ घटनामा एक जनाले ज्यान गुमाएका छन् । चट्याङका दुई सय ३६ घटनामा ८० जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका आगलागीविज्ञ सुन्दर शर्माले यी तथ्याङ्कले पनि आगलागीको दर अत्यधिक रहेको र बढी भौतिक क्षति आगलागीका कारण हुने गरेको बताए । ‘सबै विपद्जन्य घटनालाई विश्लेषण गर्दा त्यसको ९० प्रतिशत भौतिक क्षति आगलागीका कारण भएको छ । हालसम्म नेपालमा आगलागी नियन्त्रणमा खटिने अग्रफोर्स भनेको नेपालका सुरक्षाकर्मी हो’, उनले भने । शर्माले सुरक्षाकर्मी बाहेकका तालिमप्राप्त दस्ता नेपालमा नभएको उल्लेख गरे ।

पछिल्लो समय सरकारले स्वयंसेवक ब्यूरोको अवधारणा ल्याएपछि सोही आधारमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वयंसेवी तयार पार्न लागेको प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताए ।

उनका अनुसार अहिले स्वयंसेवीलाई तालिम दिने काम भइरहेको छ । मकवानपुरमा तालिम चलिरहेको छ । नमूनाका रूपमा विपद्का समयमा स्वयंसेवा गर्न इच्छुक व्यक्तिका लागि अनलाइनबाटै फारम भर्ने व्यवस्था गरिएको छ । पहिलो चरणमा रेडक्रसमा आवद्ध एक लाखलाई स्वयंसेवामा जोड्दै तालिम सुरु गरिएको प्राधिकरणले जनाएको छ । स्थानीय तहको मातहतमा रहने गरी ती स्वयंसेवीलाई विपद्का बेला परिचालन गर्न सकिने छ ।

प्राधिकरणले आगलागी, हावाहुरी, चट्याङ र डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि आवश्यक तयारीसमेत थालेको जनाएको छ । यसका लागि आवश्यक तालिम, प्रशिक्षण यन्त्र, उपकरण व्यवस्थापनलगायतको काम जारी रहेको प्राधिकरणका प्रमुख पोखरेलको भनाइ छ ।

हालै प्राधिकरणले सिंहदरबारमा आगलागी नियन्त्रणका लागि उपयुक्त हुने ‘फायर फाइटिङ पम्प’को सफल अभ्यास गरेर देखाएको थियो । यस्ता यन्त्रको सही तरिकाले प्रयोग गरे दमकल नपुग्ने स्थानमा स्थानीय तहले सजिलै आगलागी नियन्त्रण गर्न सक्ने प्राधिकरणले जनाएको छ । ‘फायर फाइटिङ पम्प’को मूल्य रू एक लाख मात्रै पर्ने भएकाले हरेक स्थानीय तहले उक्त उपकरण व्यवस्थापन गर्न सक्ने उनले बताए ।

अधिकांश आगलागी मानवीय कारण

प्राधिकरणका आगलागीविज्ञ सुन्दर शर्मा अधिकांश आगलागीका घटना मानवीय कारणले हुने गरेको बताउँछन् । उनका अनुसार ६४ प्रतिशत आगलागी मानिसले जानीजानी लगाउने गरेका छन् । बत्तीस प्रतिशत चुरोटको ठुटा फ्याँक्नेलगायत हेल्चेक्र्याइँका कारण हुने गरेको छ ।

हरेक वर्ष डढेलो निभाउन जाँदा औसत सात जनाको मृत्यु हुने गरेको उनले जानकारी दिए । औषतमा वार्षिक ८० घर आगालगीबाट जल्ने गरेका छन् । आगलागीले मानवीय र भौतिक सम्पत्तिका साथै जैविक विविधतामा ठूलो क्षति पुर्‍याए पनि यसतर्फ धेरैको ध्यान नपुगेको विज्ञ शर्मा बताउँछन् । उनका अनुसार आगलागी नियन्त्रणका लागि सरकारबाट समेत ध्यान नपुगेकाले बजेटको अभाव हुने गरेको छ । शर्माले पछिल्लो समय आगलागीको प्रकृति फरक हुँदै गएकाले ‘एरियल फायर फाइटर’को जरुरी रहेको बताए । उनले वैशाखमा बढी आगलागी हुने भएकाले आजैदेखि सचेत हुनुपर्ने भन्दै आवश्यक तयारीमा जुट्न सबैलाई अनुरोध पनि गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका