
काठमाडौँ— प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवनमा बस्नेछ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले नै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ु माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा नेपाली कांग्रेसबाट संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित गणेशप्रसाद विमलीको यही चैत ७ गते भएको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए ।