काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीलाई २-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा रियलको जितमा करिम बेन्जिमा र मार्को एसेन्सियोले एक एक गोल गरे । खेलको २१ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५९ औं मिनेटमा चेल्सी १० खेलाडीमा समेटियो । डिफेन्डर बेन चिलवेलले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको हो ।
त्यसपछि खेलको ७४ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई २-० को जित दिलाए ।
अब दुई टोलीबीचको दोस्रो लेग अप्रिल १९ मा हुनेछ । जुन खेल चेल्सीको मैदानमा हुनेछ ।