सूचना-प्रबिधि
विमानस्थलमा खटिने कर्मचारीलाई खल्तीरहित पोशाक लगाउन वायुसेवा निगमको निर्देशन
0 टिप्पणी
काठमाडौँ– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने आफ्ना कर्मचारीलाई खल्ती नभएको पोषाक लगाउन निर्देशन दिएको छ ।
यात्रुहरूको लगेज टुटफुट भएको गुनासो आएपछि निगमले विमानस्थलमा कार्यरत कर्मचारीका लागि खल्तीरहित पोशाकको व्यवस्था गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार ब्यागेज ह्याण्डलिङ सेवा सुधारका लागि आजदेखि कर्मचारीलाई खल्तीरहित पोशाकको व्यवस्था गरिएको छ ।
ब्यागेज ओसारपसार गर्ने ट्रलीमा बार तथा चेन लगाइएको छ भने लगेज सुरक्षासम्बन्धी कर्मचारी खटाइनुका साथै वर्षाको पानीले ब्यागेज भिज्नबाट बचाउन ब्यागेज ट्रलीमा छाना व्यवस्था गरिएको छ ।
त्यस्तै ब्यागेजसम्बन्धी गुनासो सुनुवाइका लागि विमानसथलमास्थित ब्यागेज ह्याण्डलिङ युनिटलाई २४ घण्टा नै क्रियाशील गराइएको निगमले जनाएको छ ।