आर्थिक
राजस्व संकलनको जिम्मेवारी लिएका कर्मचारीलाई इमान्दारिता देखाउन अर्थमन्त्री महतको आग्रह
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व संकलन गर्ने जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गरेका छन् । आन्तरिक राजश्व विभागका प्रमुखको समीक्षा बैठकलाई आज सम्बोधन गर्दै अर्थमन्त्रीले राजश्व संकलनमा कुनै पनि लापरबाही गर्न नहुने बताएका हुन् ।
बैठकमा उनले भने, ‘नेपाल सरकारको विभिन्न मन्त्रालय खर्चका लागि जिम्मेवार हुन् । सम्बन्धित मन्त्रालयमा विनियोजन भएको रकम प्रभावकारी ढंगले खर्च होस् भन्ने अर्थ मन्त्रालयको अपेक्षा रहन्छ । राजस्व संकलनमा अर्थ मन्त्रालयको अहम् भूमिका रहेकोले सबै राजस्व संकलनको जिम्मा अर्थ मन्त्रालयको हो ।
विभिन्न परिस्थितिजन्य अवस्थाले यस पटक राजस्व निक्कै कम संकलन हुन गएको हो । गतवर्ष संकलन भएको राजस्वसँग अहिले संकलन भएको राजस्व दाँज्दा पनि हाम्रो प्रगति निकै कम देखियो’ मन्त्री डा महतले भने ।
उनको यसको सम्पूर्ण दोष राजस्वका कर्मचारीको हो भनेर आफूले नभनेको र राष्ट्रिय अर्थतन्त्रमा आएको सङ्कुचन, केही वस्तुको आयातमा लगाएको प्रतिबन्ध, पुँजीगत खर्चमा आएको ह्रास, चोरी पैठारीका कारणले राजश्वमा कमी आएको स्पष्ट पारे।
बैठकमा डा महतले भने, ‘तमाम पावन्दी र समस्याका बाबजुद हाम्रो प्रयासमा अवश्य पनि कमी कतै छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ । हामी सबैले इमान्दारिताका साथ आ–आफ्नो जिम्मेवारी पूरा गर्ने बाहेक मसँग अर्को कुनै एजेन्डा छैन । तपाईँहरूको कार्य प्रगतिबाट नै तपाईँहरूको मूल्यांकन हुन्छ भन्ने कुरामा तपाईंहरू निश्चिन्त हुनुहोस् ।
काठमाडौँ लगायत राज्यका विभिन्न स्थानमा राजस्व संकलन गर्न स्थापित आन्तरिक राजस्व कार्यालयले राम्रोसँग आफ्नो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्नु नहुने उनको भनाइ छ । बजारको प्रभावकारी अनुगमन, कारोबारको यथार्थ बिल लिनेदिने कार्यको विकास, कर्मचारीमा नैतिकता र इमान्दारिता तथा महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमा देखाएका कुरालाई गम्भीरतापूर्वक लिन जरुरी रहेको अर्थमन्त्रीको भनाइ छ ।
‘झन्डै ४४ प्रतिशत राजस्व ठूला करदाताबाट आउँछ । गत वर्षको तुलनामा अहिले ठूला करदाताबाट पनि राजस्व कम संकलन भएको छ । यहाँ पनि समस्या देखियो । यसमा कहाँ त्रुटी भयो, त्यसको समीक्षा हुन जरुरी छ । तथ्यांकलाई तुलना गरेर व्याख्यात्मक विश्लेषण हुन जरुरी छ’ उनले भने, ‘समस्या पहिचान हुनुपर्यो, समस्या आउने कारण यी हुन् भनेर विश्लेषणपछि आउने कार्यदिशा तय गर्न जरुरी छ ।’
‘पछिल्लो समयमा ठूला व्यावसायिक घराना त्यत्ति धेरै प्रभावित भएका छैनन्, अहिले साना व्यवसायी धेरै प्रभावित भएका छन् । त्यत्ति हुँदा पनि काठमाडौँ उपत्यकामा किन राजस्व संकलनले लक्ष्यभन्दा कम उठ्छ ? ‘ उनले प्रश्न गर्दै भने ‘भ्याटमा नक्कली बिलको समस्या आइरहेको छ भनिएको छ, यदि हो भने यो अपराध नै हो’ यसलाई गम्भीररुपमा लिन म आग्रह गर्दछु ।