
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली समाजले भ्रष्टाचार स्विकारिसकेको बताएका छन्।
मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथिको छलफलमा भाग लिँदै यस्तो बताएका हुन्। उनले समाजले भ्रष्टाचार स्विकार्नु सबैभन्दा भयानक विषय भएको बताए। उनले संस्कृतिमा भएको भ्रष्टाचारलाई कसरी निवारण गर्ने ? भन्ने बारेमा सोच्न जरुरी रहेको बताए।
उनले नेपालमा नीतिगत, राजनीतिक व्याप्त भएको जानकारी दिए। उनले राज्यले भ्रष्टाचार गर्दा जनता गरिब भएको बताए।
उनले भने, ‘हाम्रो संस्कृति नै भ्रष्ट छ। संस्कृतिमा भएको भ्रष्टाचार कसरी निवारण गर्ने? कानूनले मात्रै सबै कुरा गर्छ जस्तो मलाइ लाग्दैन। हामीले हाम्रो सभ्यताको जतिसुकै कुरा गरे पनि हाम्रो सभ्यतामा केही त्यस्ता समस्या छन्, जसले हामीलाई अघि बढ्न दिएको छैन। हाम्रोमा भ्रष्टाचार शक्तिले गर्छ‚ कमजोरहरूले गर्दैनन्। यो सबैभन्दा ठूलो अपराध हो। यसले गरिब बनाएको छ। जनता आफैँ आफ्ना कारणले गरिब छैनन्। राज्यले भ्रष्टाचार गर्छ, जनतालाई गरिब बनाउँछ। सीमित मानिसलाई मात्रै धनी बनाउँछ।
प्रमुख सचेतक परियारले मानिसले कसरी कमायो भन्ने कुरा समाजले नहेर्ने गरेको बताए।