
एमजिके अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीपमा नेपालले १६ स्वर्ण पदक जित्दै प्रथम भएको छ ।
जापान गोजुरियो कराते डो मिसन सङ्घले रुपन्देहीको शङ्करपुरमा आयोजना गरेको दोस्रो संस्करणको एमजिके अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीपमा नेपालले २४ रजत र ३४ कास्य पदक प्राप्त गरेको छ ।
प्रतियोगितामा सात स्वर्ण, एक रजत र तीन कास्य पदकसहित भुटान दोस्रो भएको छ भने भारतले पाँच स्वर्ण, चार रजत र सात कास्य पदकमा चित्त बुझाएको छ ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताको पहिलो दिन कुमुतेतर्फ गरी सात स्वर्णको छिनोफानो हुँदा नेपालले छ स्वर्ण पदक जितेको थियो । प्रतियोगिताको दोस्रो दिन नेपालले थप १० स्वर्ण पदक जितेको हो ।
प्रतियोगिताका विजेता खेलाडीलाई तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले पदक प्रदान गरेका थिए । उनले पछिल्लो समयमा नेपाली खेलाडी सबै खेलमा अब्बल हुँदै गएको बताइन् । प्रतियोगितामा नेपाली खेलाडीले सानदार प्रस्तुति गर्दै देशको नाम राख्न सफल भएको कराते डो मिसन सङ्घका प्रमुख प्रशिक्षक काजी रानाले बताए।
प्रतियोगितामा पुरुष २५, २७, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६८ र ७५ केजीमुनि तौलसमूह तथा महिलाका लागि २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६१ र ६८ केजीमुनि तौल समूहमा र कातातर्फ महिला र पुरुष आठ र नौ वर्ष तथा १० देखि १३ वर्ष उमेर समूहमा प्रतिस्पर्धा भएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी करिब दुई सय सय खेलाडी सहभागी भएको आयोजक संस्था जापान गोजुरियो मिसन डो सङ्घले जनाएको छ ।