जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : चार खेल हुँदै

‘ए’ डिभिजन लिग : चार खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार चार खेलहरु हुँदैछन् । लिगको १३ औं चरण अन्तर्गत आइतबार अन्तिम चार खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र दुई खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता मछिन्द्र फुटबल क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र सातदोबाटोबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

मछिन्द्र पाँचौं जित निकाल्ने योजनामा हुनेछ । मछिन्द्र १२ खेलमा १७ अंक जोडेर सातौं स्थानमा रहेको छ । सातदोबाटो सातौं जितको खोजीमा हुनेछ । सातदोबाटो १२ खेलमा २१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

रंगशालामै हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीचको बाँकी खेल समेत हुनेछ । हिमालयन र आर्मीबीचको खेल दिउँसो ४:३० बजे सुरु हुनेछ ।

हिमालयन र आर्मीबीचको खेल शनिबार भारी वर्षा र चट्याङको कारण स्थगित भएको थियो । हिमालयन र आर्मीबीचको खेल ७१ औं मिनेटमा रोकिएको थियो । त्यहिँ समयबाट दुई टोलीबीचको खेल हुनेछ ।

हिमालयन र आर्मी १-१ गोलको बराबरीमा रहेका छन् । नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर, खेलको ५५ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

हिमालयन आज चौंथो जितको योजनामा हुनेछ । हिमालयन १२ खेलमा १३ अंक जोडेर १३ औं स्थानमा रहेको छ । आर्मी छैटौं जितको खोजीमा हुनेछ । आर्मी १२ खेलमा १९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यस्तै एन्फा कम्प्लेक्समा चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र मनाङबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।

यस खेल शनिबार नै रंगशालामा हुने तय थियो । तर, भारी वर्षा र चट्याङको कारण खेल स्थगित भएको हो । चर्च ब्वाइज पाँचौं जित निकाल्न चाहन्छ । चर्च ब्वाइज १२ खेलमा १८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

मनाङ पनि पाँचौं जितको योजनामा हुनेछ । मनाङ १२ खेलमा १५ अंक जोडेर नवौं स्थानमा रहेको छ । एन्फा कम्प्लेक्समै संकटा क्लब र जावलाखेल युथ क्लबबीचको बाँकी खेल हुनेछ । संकटा र जावलाखेलबीचको बाँकी खेल दिउँसो १ बजे सुरु हुनेछ ।

संकटा क्लब र जावलाखेलबीचको खेल शनिबार भारी वर्षा र चट्याङको कारण स्थगित भएको थियो । दुई टोलीबीचको खेल ५१ औं मिनेटमा स्थगित भएको थियो ।

संकटाविरुद्ध जावलाखेल १-० ले अघि रहेको छ । फोडे फोफानाले ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । संकटा आज पाँचौं जितको खोजीमा रहेको छ । संकटा १२ खेलमा १५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

जावलाखेल आठौं जित निकाल्न चाहन्छ । जावलाखेल १२ खेलमा २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका