सुन्दरहरैँचा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्व मजदुर दिवसको अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।
प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरबाट जारी विज्ञप्तिमा उहाँले सम्पूर्ण श्रमजीवी वर्गको यो विशेष दिन १३४औँ विश्व मजदुर दिवस-अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा विश्वभरि छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा शुभकामना व्यक्त गरेका छन् ।
उनले आफ्नो अधिकारको माग गर्दै अमेरिकाको शिकागो सहरमा मजदुरले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका श्रमिकको सम्झनास्वरूप सन् १८८९ को मे १ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको जारी शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
आजको दिनलाई विश्वभरीका मजदुर तथा श्रमजीवी वर्गले आफ्नो आन्दोलनको महत्वपूर्ण उपलब्धि आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन लगायतका आधारभूत हकअधिकार प्राप्तिको दिनका रूपमा स्मरण गर्ने गरेको मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् । उनले नेपालको हरेक राजनीतिक–सामाजिक परिवर्तनमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको प्रवाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको भनी उल्लेख गरेका छन् ।
शुभकामना सन्देशमा विसं २००७ मा कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरबाट नै श्रमिक मजदुरले प्रजातन्त्रको विगुल फुकेको उल्लेख गरिएको छ । ‘नेपाली समाजको युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पुर्याएको योगदानप्रति आजको विशेष दिनमा म उच्च सम्मान प्रकट गर्दछु’, मुख्यमन्त्री कार्कीले भनेका छन् ।
नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएकाले सोहीअनुसार श्रमजीवी वर्गको अधिकार कार्यान्वयन गर्न श्रम ऐन, २०७४ र सामाजिक सुरक्षा ऐन २०७५ लगायतका विभिन्न ऐन कानुनको निर्माण भएको मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् । सरकारी तहबाट निर्माण भएका ती ऐन कानुनको पूर्ण कार्यान्वयनका लागि आवश्यक भूमिका निर्वाह गर्न कोशी प्रदेश सरकार पूर्णरूपमा प्रतिवद्ध रहेको कुरा अवगत गराइएको छ ।
विश्व मजदुर दिवसका अवसरमा सम्पूर्ण श्रमजीवी नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गदै नेपाली श्रमिक तथा तिनका प्रतिनिधि टेर्ड युनियनलाई श्रमिकको हकहित संरक्षणका निम्ति संगठित र एकताबद्ध भएर अघि बढ्न सफलता मिलोस भन्दै सबैमा शुभकामना मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।