
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्यले श्रमिकहरुलाई शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क दिनुपर्ने बताएका छन्।
सोमबार १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पार्टी संवद्ध ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले श्रमिकहरुलाई निःशुल्क रूपमा शिक्षा र स्वास्थ्यको सेवा दिनुपर्ने बताएका हुन्।
उनले श्रमिकको जीवन मर्यादित र सुरक्षित हुन नसकेको भन्दै श्रमिकहरूको मर्यादा, सुरक्षा र जीविकाको सुरक्षातर्फ राज्यले ध्यान दिनुपर्ने बताए।
उनले सबै श्रमिकहरुलाई सरकारले स्वास्थ्य बीमाको दायरामा ल्याउनुपर्ने पनि बताए। अध्यक्ष लिङदेनले श्रमिकहरुलाई सूचीकृत गर्ने र परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताए।
उनले भने, ‘आजको हाम्रो श्रम क्षेत्र के मर्यादित छ? के सुरक्षित छ? के आजको जीवन धान्नसक्ने अवस्था छ? यसतर्फ पनि यस्तो बेला समीक्षा हुनुपर्दछ। मलाई लाग्छ, अहिले पनि श्रमिकहरुको जीवन पूर्ण रुपले मर्यादित हुन सकेको छैन। सुरक्षित त छैन नै। राज्यको निर्माणमा सबभन्दा ठूलो योगदान पुर्याउने श्रमिक क्षेत्र राज्यको क्षेत्रबाट सबभन्दा धेरै उपेक्षित छ। सबैको अस्पताल छन्। तर श्रमिकहरुको अस्पताल छैनन्। राप्रपा मजदुरहरको बारेमा सुस्पष्ट छ। हामीले स्पष्टसँग भनेका छौँ कि पूर्ण रुपले सामाजिक सुरक्षासँग श्रमिकहरु जोडिनुपर्दछ। श्रमिकहरुको स्वास्थ्य र उनका बालबालिकाको शिक्षाको सुनिश्चितताको व्यवस्था सरकारले गरिदिनुपर्छ।’
अध्यक्ष लिङदेनले देश बाहिरबाट श्रम इजाजत बिना नेपाल आएर व्यक्तिहरुले काम गरिरहेका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो। उहाँले देशका श्रमिकहरुलाई प्राथमिकताका साथ देशभित्रै कामको अवसर दिनुपर्ने बताए।