काठमाडौं । जिल्लाको बलेफी गाउँपालिका–८ मा रेलिङसहितको बाटो निर्माण गरिएको छ । उक्त बाटोे आज क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य माधव सापकोटाले उद्घाटन गरे ।
टोप्का बसेरी रेलिङसहितको उक्त बाटो माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटाको पहलमा बागमती प्रदेश सरकारको रु २५ लाख बजेटमा निर्माण गरिएको हो ।
ढलान र ढुङ्गा छापेर बनाइएको बाटोले जोखिम हटेको स्थानीयवासीले बताए । जम्मा चार सय मिटरको यो बाटोले टोप्का र टोप्का बसेरी गाउँलाई जोडेको छ । निकै अप्ठेरो र जोखिमयुक्त टोप्का भिरको बाटोमा रेलिङ बनइएपछि हिँड्न सजिलो भएको स्थानीयवासी तारानाथ पराजुलीले बताए ।
स्थानीय श्री कालीदेवी आधारभूत विद्यालयमा आउने विद्यार्थी ओहोरदोहोर गर्ने यो बाटो निकै अप्ठेरो रहेको स्थानीयवासी सुवास तामाङले बताए।
गाउँपालिकाका अध्यक्ष गङ्गा तामाङले बाटोले स्थानीयवासीलाई सहज भएको बताईन । अहिले बाटो प्रयोग गरेर मोटरसाइकलसमेत ओहोरदोहोर हुने भएको छ ।