काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले जिम्मेवारी लिएको सडक निर्माण समयमै पूरा नहुनुमा बजेट मुख्य कारण रहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले बजेट अभाव भएका कारण सेनाले चाहदाचाहदै समयमा काम सम्पन्न नभएको दाबी गरे ।
उनले हुम्ला सदरमुकाममा सडक जोड्ने विषयमा सेनाले पाएको जिम्मेवारी आउँदो आर्थिक वर्षमा पूरा गर्ने पनि बताए ।
‘हाम्रो अर्थतन्त्रको सीमितताको कारण, बजेट अभावको कारणले सेनाले सम्पन्न गर्न चाहदाचाहदै पनि कतिपय सडकहरु सम्पन्न हुन नसकेका हुन् । जहाँसम्म हुम्लाको कुरा उठेको छ । हुम्लाको सन्दर्भमा सेनाले पाएको जिम्मेवारी अनुसारको आम आउने आर्थिक वर्षमा सम्पन्न गर्छ’ उपप्रधानमन्त्री खड्काले भने ।
सुरक्षाका कारण जलविद्युत आयोजनामा विगतदेखि नै सेना खटाउने गरेको उनले बताए । ‘निजी जलविद्युत आयोजनाहरुमा सरकारको निर्णय अनुसार सुरक्षाको आवश्यकतालाई ध्यानमा राखेर सेनालाई खटाउने प्रबन्ध विगतदेखि हुँदै आएको छ’ उनले भने ।