
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको दाबी गरेका छन् । शुक्रबार बिहान केही सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले प्रहरीको बढुवामा आर्थिक चलखेल शून्यमा झारेको दाबी गरेका हुन् ।
‘प्रहरीको सरुवा बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको छु । मेरो सचिवालयले कहीँ आर्थिक चलखेल गरेको देखाउनुभयो भने म राजनीति नै गर्दिन’ श्रेष्ठको भनाइ छ ।
प्रहरीमा वरिष्ठ प्रहरी निरीक्षक (असई)बाट इन्स्पेक्टर (प्रहरी निरीक्षक) मा बढुवा गर्ने तयारी भइरहेको छ । ३७ जनामध्ये २६ जना पीएसओहरुमात्र रहेको बुझिएको छ ।
फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले मिटरव्याजीहरुलाई कारवाहीका लागि कानुन बनाएर कारबाही गर्नुपर्छ भनेर सुरु देखि आफू लागेको पनि बताए । ‘म मिटरव्याजीलाई कानुन बनाएर कारबाही गर्नुपर्छ भनेर सुरु देखि नै लागेँ, तर कानुन बनाउने अन्तिम समयमा संसद् अवरुद्ध भयो र पास हुन दिइएन’, श्रेष्ठको गुनासो छ ।