काठमाडौं । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुदृढ गर्न महत्त्वपूर्ण छ । यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट वञ्चित नगरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदै छ ।
नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनः स्थापनाको सुनिश्चितता र बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको सन्देश दिएको छ ।
सामान्यतया प्रलोभनमा पारी, झुक्क्याई, डर त्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छा विपरीत कुनै न कुनै रूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबरजस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ ।
मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानूनी आप्रवासन आदि कार्यका लागि भइरहेको देखिन्छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वव्यापी सङ्कट, द्वन्द्व र जलवायु आपत्कालले मानव बेचबिखनको जोखिम बढिरहेको छ । विस्थापन र सामाजिक आर्थिक असमानताले असर परेका लाखौँ मानिस मानव बेचबिखनका तस्करको चपेटामा परेका छन् । यस्तै गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुर्व्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घअन्तर्गतको लागूऔषध र अपराधसम्बन्धी कार्यालयका अनुसार विकासशील राष्ट्रहरूमा मानव बेचबिखनप्रतिको प्रतिक्रिया घट्दै गएको छ । सन् २०२० मा मानव बेचबिखन पत्ता लगाउने दर ११ प्रतिशतले घटेको र मावबेचविखनविरुद्ध सजायको दर २७ प्रतिशतले घटेको थियो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय प्रतिवेदन, २०७६ अनुसार पछिल्लो समय महिला र बालबालिकाको एसिया, अरब, अफ्रिका, युरोप र अमेरिकाका अन्य विभिन्न मुलुकमा समेत बेचबिखन तथा ओसारपसार हुन थालेको छ ।
मानव बेचबिखनको आयाम फराकिलो बन्दै गएकाले यसको नियन्त्रण चुनौतीको विषय बन्दै गएको छ । मानव बेचबिखन नियन्त्रणका लागि समयसापेक्ष कानूनको संशोधन र निर्माण गर्न आवश्यक भएको यस क्षेत्रमा काम गर्दै आएका साझेदार संस्थाहरूको भनाइ छ ।
‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रण गर्न हाम्रा कानुन अपुग र अव्यवहारिक छ’, समाजशास्त्री मीना पौडेल भन्छिन्, ‘पहिल्यैतिर लोभलालच वा झुक्याएर बेचबिखन हुन्थ्यो, अहिले यसको आयाम फराकिलो भएको छ । अहिले महिलामात्र होइन, पुरुष पनि यसको जोखिममा छन् ।”