काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी स्पेनिस क्लब सेभियालाई पराजित गर्दै युइएफए सुपर कप च्याम्पियन बनेको छ ।
ग्रीसको एथेन्समा बुधबार राति भएको खेलमा टाइब्रेकरमा स्पेनिस क्लब सेभियालाई ५–४ ले पराजित गर्दै सिटीले सिजनको पहिलो उपाधि जित्न सफल भएको हो ।
निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो । निर्धारित समयको खेल बराबरीमा टुंगिए पछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा सिटीका एर्लिङ हालान्ड, जुलियन अल्भारेज, माटियो कोभासिस, ज्याक ग्रेलिस र केल वाल्करले गोल गर्न सफल भए ।
सेभियाका नेमान्जा गुडेल्जले अन्तिम प्रहारमा गोल गर्न सकेनन् । लुकास ओकम्पास, राफा मिर, इभान राकिटिच र गोन्जालो मोन्टेलले गोल गर्न सफल भए ।
त्यसअघि युसुफ एन न्यास्रीको गोलबाट सेभियाले खेलको २५औं मिनेटमा अग्रता लिन सफल भएको थियो ।
एक गोलले पछि परेको सिटीले ६३औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो ।
युइएफए सुपर कप युइएफए च्याम्पियन्स लिग विजेता र युइएफए युरोपा लिग च्याम्पियनबीच हरेक वर्ष हुने गर्दछ ।
सिटी च्याम्पियन्स लिगको तथा सेभिया युरोपा लिगको च्याम्पियन हो ।