काठमाडौं । धनुषा जिल्ला नगराइन नगरपालिका ७ का विनोद शाहसहित उनको परिवार यही असार १ गतेदेखि माइतीघर मण्डलामा धर्ना बस्दै आइरहेको छ। यसरी धर्ना बस्न थालेको पनि करिब ७० दिन बितिसकेको छ।
जे विषयका लागि धर्ना बसेका थिए त्यसमा सरकार मौन छ। पीडितको गुनासो सुनुवाइ र न्यायको लागि कुनै ठोस कदम नचालिँदा पीडित पक्ष निराश छन्।
घटना यही जेठको हो। जेठ ७ गते धनुषास्थित आफ्नै घरमा आरती साहको हत्या भएको थियो। हत्यामा उहाँका श्रीमान् मोतिबाबु साह, ससुरा मदनमोहन, सासु आमा रेनु देवी र देवर रवि साह रहेको आरती साहका परिवारको आशंका छ। मिलेर थप दाईजोको लागि निर्घात कुटपिट गरी हत्या गरेका कारण सपरिवार न्यायका लागि सडकमा उत्रीएको विनोद शाह बताउनुहुन्छ।
२०७८ असार ३१ गते आरतीको विवाह जनकपुरधाम थापाचौक ९ का मोतिबाबु साहसँग विवाह भएको थियो। ‘विवाहमा मागे जति दाइजो ऋण सापटी गरेर दिएका थिया,’ मृतक आरतीका बुवा विनोद साह भन्नुहुन्छ, ‘विवाहको ७–८ महिनापछि मोतिबाबुको परिवारले बाइक, दराजको माग गर्दै आरती लाई दिनदिनै कुटपिट गरी यातना दिन थाले। आरती माइत आएर बेलिविस्तार लगाइन्। त्यसपछि हामीले बाइक दिन नसक्ने र दराजको जोहो गर्ने सहमति गर्यौँ।’
कुटपिटबाट घाइते भएपछि जेठ ७ गते मोतिको परिवारले जनकपुरको काभ्या अस्पतालमा आरतीलाई भर्ना गरेको थियो। आरतीका बुवा विनोदलाई मोतिको परिवारले ‘साधारण बिरामी छ, स्लाइन पानी चढाएर राखेको छ। तुरुन्तै अस्पताल आउनु भनेर’ ६ बजेर २० मिनेटमा फोन गर्यो।
त्यसपछि विनोद आत्तिनुभयो। जनकपुरमा पढ्दै आएकी छोरी मनिशालाई फोन गरेर अस्पताल जान भन्नुभयो।
‘अस्पताल ढिलो पुगेँ। त्यहाँ आरतीको अवस्था देखेर बेहोसजस्तो भएँ,’ मनिशा भन्नुहुन्छ। ‘दिदीको टाउकोमा चोटपटक, कुइनोमा रगत लतपतिएको र घाँटी हातले थिचिएकोजस्तो डाम थियो,’ मनिशाले भन्नुभयो, ‘बोलाउँदा पनि बोल्नुहुन्नथ्यो। डाक्टरलाई सोध्दा दिदीको मृत्यु भएको भनेपछि तुरुन्तै घटनाबारे बुबालाई फोन गरेर बताएँ।’
यता आरतीकी आमा निर्मला देवी शाहका अनुसार सामान्य झगडा भएको र गाली गर्दा छोरी झुन्डिएको मोतिबाबुुको परिवारले बतायो। तर यो आत्महत्या नभई निर्मम हत्या भएको उहाँको दाबी छ।
आफ्नो परिवारलाई जेठ ३२ गते धनुषा जिल्ला प्रहरी कार्यलयमा बोलाएर बकपत्रमा आफूखुसी लेखेको कुरामा सहीछाप गर्न लगाउँदा आफूहरू नमानेको मनिशा बताउनुहुन्छ।
‘सहीछाप गर्न नमान्दा डिएसपी वेदप्रकाश गौतमले मलाई घाँटीमा समातेर लतारे,’ मनिशा भन्नुहुन्छ, ‘ बुटले जथाभावी संवेदनशील अंगमा पनि प्रहरीले हिर्कायो। मामा सन्तोष, आमा र बुवालाई पनि कुटपिट गरे।’
‘उल्टै पीडित पक्षलाई बोलाएर अनावश्यक कुटपिट गरी दिउँसो ३ बजेदेखि बेलुका १० बजेसम्म थुनामा राखे। एसपी विश्वराज खड्का आएर माफी माग्न लगाएर,’ मनिशाको भनाइ छ, ‘अनि हामी प्रहरीको खुट्टा समातेर माफी माग्न बाध्य भयौँ। त्यसपछि मात्रै त्यहाँबाट छोडिदिए।
यो घटनाको पृष्ठभूमि यही हो। त्यसपछि न्यायका लागि आरतीको परिवार सडकमा निस्कियो। र काठमाडौँसम्म आइपुगेको हो।
करिब ७० दिनदेखि चलिरहेको न्यायको लडाइँ अनिश्चिकालीन रहेको आरतीका बुवा विनोद शाह बताउनुहुन्छ।
‘मोतिबाबु र मदन मोहनलाई हिरासतमा छन्,’ विनोह शाहको माग छ, ‘घटनामा संलग्न सम्पूर्ण परिवारमाथि नै अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्छ। महिलामाथि कुटपिट गर्ने वेदप्रकाश र विश्वराजमाथि पनि कारबाही हुनुपर्छ।’
धर्ना बसिरहँदा एक हप्ताअघि नक्सालबाट डिआइजी, डिएसपी, इन्सपेक्टर र एसएसपी आएर ‘तपाईंहरु घर जानुस्, हामी अनुसन्धान अगाडि बढाउँछौँ’ भने। तर आरतीको परिवार यसमा सन्तुष्ट छैन। न्याय नपाएसम्म माइतीघरमै अनिश्चितकालका लागि धर्ना बस्ने बताउँछ।
‘सरकार हामीजस्ताको कुरै सुन्न चाहन्न,’ मनिशाको गुनासो छ, ‘गृह मन्त्रालय र राष्ट्रिय मानव अधिकार तथा महिला आयोगले पीडितको मुद्दामाथि फैसला गर्न नसक्ने भए ताल्चा लगाए हुन्छ।’