
काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । अहिले कोसी, मधेस, गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागले दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोसी र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार आज राति कोसी, मधेस र वाग्मती प्रदेशमा सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ । बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार आज मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा रहेको न्यूनचापीय क्षेत्र र बंगलादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।