काठमाडौं । नेपालले आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा लगातार चौथो जितका साथ सेमिफाइनल प्रवेश गरेको छ ।
लगातार चौथो जित दर्ता गर्ने क्रममा नेपालले कतारलाई ९ विकेटले हराएको हो ।कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १० दशमलब ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा ओपनर काजल श्रेष्ठले २८ बलमा ४ चौकासहित ३२ रनको योगदान दिइन् ।
इन्दु बर्मा १२ बलमा ३ चौकासहित अविजित २० रन बनाईन् । ओपनर सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहिन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनाएको थियो ।
कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित २१ रनको योगदान दिइन् । एन्जिलेने मारे १४ रनमा अविजित रहिन्।
इन्दु बर्माले ३ तथा पुजा महतो र कबिता जोशीको नाममा समान १/१ विकेट रह्यो ।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो ।
तेस्रो खेलमा नेपालले आईतबार भुटानलाई पराजित गरेको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार युएईसँग खेल्दैछ ।
प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाइनल खेल रहेको छ ।
प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।
प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।