शासनको तेस्रो कार्यकालमा आफ्नो भव्य दृष्टिकोण सफल बनाउनका लागि चिनियाँ राष्ट्रपति सी जिन फिङले वफादारहरूलाई शीर्ष स्थानमा राखेका थिए । सीको अपेक्षा थियो, ‘वफादारहरूले आफ्नो दृष्टीकोण सहजताका साथ कार्यान्वयन गर्नेछन् ।’ तर एक वर्षको अवधिमै सीको यो अपेक्षामा कठिनाइ देखापरेको छ । आफ्ना विश्वापात्रलेनै प्रश्न उठाउन थालेपछि सीले राजनीतिक तरंगको सामाना गर्नुपरेको छ ।
दुई महिनाको अवधिमा चीनका दुई उच्चपदस्थ मन्त्री र चीनका लागि अन्तर्राष्ट्रिय मध्यस्थकर्ता गायब छन् । पूर्व परराष्ट्रमन्त्री क्वीन गाङ नाटकीय रुपमा गायब भएको घटनापछि हाल रक्षा मन्त्री ली साङफू गायब छन् । विगत तीन सातादेखि उनी सार्वजनिक वृत्तमा देखा परेका छैनन् ।
पश्चिमासँगको बढ्दो तनावको समयमा सीले आन्तरिक कमजोरी वा खतरालाई हटाउन खोजेको अवस्थामा उनीहरू गायब भएका हुन् । ली र क्वीन दुबै राज्य परिषद्का पाँच सदस्य मध्येमा थिए । दुबैजना मन्त्रिपरिषद्का प्रभावशाली मन्त्री थिए । ली केन्द्रीय सैन्य आयोगमा समेत थिए । सी नेतृत्वको यस शक्तिशाली आयोगले चीनको सम्पूर्ण सशस्त्र बललाई परिचालन गर्छ ।
एक महिनाअघि आकस्मिक रुपमा सीले सेनाका दुई उच्च कमाण्डरलाई बर्खास्त गरेका थिए । पूर्व परराष्ट्रमन्त्री क्वीन गायबको घटनामा पनि सरकार मौन थियो । रक्षामन्त्रीको प्रकरणमा पनि सरकारले केही बोलेको छैन । सीको अपारदर्शी कार्यकालमा यस्ता घटना सामान्य छन् ।
सरकार केही नबोलेपनि उच्च श्रोतको हवला दिँदै गत मंगलबार वाल स्ट्रीट जर्नलले एक समाचार प्रकाशित गरेको छ । क्वीनमाथि विवाहेत्तर सम्बन्धमा सरकारी अनुसन्धान भइरहेको त्यसमा जिकिर छ । अमेरिकामा राजदूत हुँदा उनी विवाहेत्तर सम्बन्धमा रहेकाले अनुसन्धान गरिएको सार समाचारमा छ । चीनको विदेशमन्त्रालयले यस मामिलामा कुनै प्रतिक्रिया जनाएको छैन ।
उच्चपदस्थ नेतानै गायब हुँदा कायम भइरहेको बेइजिङको मौनतालाई विश्वलेनै आश्चर्यका रुपमा हेरेको छ । विज्ञहरू भन्छन्, ‘चीनको सत्तारुढ अभिजान वर्गमा देखिएको अनिश्चितताले बेइजिङको राजनीतिक प्रणालीको कमजोरी उजागर गरेको छ ।’
उनीहरू अघि भन्छन्(‘सीको तेस्रो कार्यकाल उनको व्यक्तिगत शक्तिको एकाग्रतामा केन्द्रित छ । ‘
सिंगापुरको नेशनल युनिभर्सिटीका अनुसन्धानकर्ता ड्रु थोम्पसनका अनुसार जारी राजनीतिक घटनाक्रमले बेइजिङको राजनीतिक संकटलाई चित्रण गर्छ । ‘विश्वासपात्रसँग सीको बढ्दो तिक्तता र शासकीय स्वभाव नियन्त्रणका मापदण्डको अभावका कारण चीन राजनीतिक जोखिमतर्फ अग्रसर छ,’ उनले भने ।
चीनमा रक्षामन्त्री कार्यकारी भूमिकामा हुँदैन । लीले सैन्य संयन्त्रलाई परिचालनको हैसियत नराखे पनि विश्वका लागि आवश्यक सैन्य कुटनीतिका लागि उनी चीनको महत्वपूर्ण अनुहार थिए । गत मार्चमा रक्षा मन्त्री भएसँगै उनले दुईपटक मस्को भ्रमण गरेका थिए । बेलारुस पुगेर त्यहाँ राष्ट्रपतिसँग भेट गरेका थिए भने अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनसँग पनि उनको भेट भएको थियो । तर हालसालको कुरा गर्दा उनी कुटनीतिक गतिविधिबाट अलग छन् । भियतनाम र सिंगापुरका सैन्य अधिकारीहरूसँऊको छलफलमा उनी देखा परेनन् ।
विज्ञहरूको अनुमान के छ भने अमेरिकासँगको सम्बन्धलाई स्थिर बनाउने प्रयत्न भइरहेको समयमा उनलाई छायाँमा राखिएको हुनसक्छ । सन् २०१८ मा चीनले रुसबाट हतियार खरिद गरेपछि अमेरिकाले उनीमाथि प्रतिबन्ध लगाएको थियो । त्यस प्रतिबन्ध फुकुवा नगरेसम्म ली अमेरिकासँगको कुनै पनि वार्तामा सहभागिता नजाउने अडान बेइजिङले लिँदै आएको थियो । लीलाई जिम्मेवारीबाट हटाइएको थियो भने दुई शक्तिराष्ट्रबीचको सैन्य वार्ताका लागि चालिएको कदमका रुपमा लिनसकिन्थ्यो ।