चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिने निर्णयविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले अनशन सुरु गरेका छन् ।
आममाफीको विरुद्धमा आफूले अनशन सुरु गरेको भारतीले बताए । नवौँ संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए। रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए । हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । साथै, उक्त घट्नामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरेर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।
रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । मृतक चेतनकी श्रीमती भारती मानन्धरले चेतनको न्यायको लागि आफू कुनै धाक, धम्की र प्रलोभनमा नपरी निरन्तर लडिरहने बताए । घट्ना घटेको आठ वर्ष भइसक्दा पनि अझैं उक्त घटनाबाट बाहिर निस्कन नसकेको अवस्थामा आममाफीले झनै पीडा दिएको उनले बताए । राष्ट्रपतिले आममाफी दिएर पुरानो घट्नाको पीडा फेरी दोहोर्याइदिएको उनले गुनासो गरे ।